INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडित शाहलाई इन्सेकको सहयोग

सिस्ने गाउँपालिका–५ रूकुमकोटका एक द्वन्द्वपीडितलाई इन्सेकले सहयोग गरेको छ । सशस्त्र द्वन्द्वको समयमा सेनाको गिरफ्तारीमा परी १५ महिना हिरासत र जेल बसेका ६३ वर्षीय धरमबहादुर शाहलाई कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग गरिएको हो ।

शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि शाहले कतैबाट राहत तथा क्षतिपूर्ति नपाएपछि त्यसको प्रक्रिया अगाडि बढाउन पहल गर्दै इन्सेकले आवश्यक कानुनी बाटो अबलम्बन गर्न बाटो खर्चवापत १५ हजार रुपियाँ उपलब्ध गराएको हो ।

जेठ १२ गते जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले उक्त रकम द्वन्द्वपीडित शाहलाई हस्तान्तरण गरेका हुन् ।

आफ्नो राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन इन्सेकले सहयोग गरेकोमा पीडित शाहले खुसी व्यक्त गरे ।

‘पहिले धेरै ठाउँमा पहल गरेपनि कतैबाट कुनै सहयोग पाइएन ।’–उनले भने–‘ढिलै भएपनि अहिले इन्सेकबाट सहयोग पाउँदा आशा पलाएको छ ।’

आफू जेलमा हुँदा पत्नीले समेत छोडेको हुँदा अहिलेसम्म एक्लै जीवन बिताइरहेको उनले बताए । राहत नपाउँदा भारत जाने र उतै बस्ने सोच बनाएकोमा अब केही आशा पलाएको शाहको भनाइ छ ।

सरकारको तर्फबाट राहत पाउन छुटेका शाहको लागि के गर्न सकिन्छ भन्ने विषयमा आफूले माथिल्लो निकायमा बुझ्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

आफ्नो तर्फबाट गर्न सकिने सबै सहयोग गर्न आफू तयार रहेको उनको भनाई छ । शाहले राहत नपाएको जानकारीमा आएपछि इन्सेकले त्यसका लागि पहल गरेको इन्सेक रूकुम जिल्ला प्रतिनिधि मनिषा केसीले बताइन् ।

photo20190526rukum (1)

photo20190526rukum (2)

अन्य

भिडियो