अदानचुली गाउँपालिका–५ बारिगाउँ स्थित स्वास्थ्यचौकी एक महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
विकट जिल्ला हुम्लामा रहेको स्वास्थचौकी बन्द हुँदा सामान्य औषधि किन्न पुगेका सेवाग्राही रित्तो हात फर्किनुपर्ने समस्या पटकपटक हुने गरेको बताउँछन् सोही ठाउँका स्थानीय सन्तोष ऐडी ।
यतिखेर सो स्वास्थ्यचौकीमा दैनिकजसो १ सयभन्दा बढी बिरामी फर्कन बाध्य हुने गरेको स्थानीय तारादेवी रावलले गुनासो गरिन् ।
सो स्वास्थ्यचौकीमा दुईजना अनमी, एकजना हेल्थ असिस्टेण्ट (इञ्चार्ज), एकजना अहेब र एकजना कार्यालय सहयोगी गरी पाँचजनाको दरबन्दी रहेको छ ।
स्वास्थचौकीका इञ्चार्ज र एकजना अनमी बिदामा गएको भएपनि अन्य कर्मचारीसमेत एकमहिना यता स्वास्थचौकीमा नआएको स्थानीयको आरोप छ ।
सो बारेमा जिल्ला अस्पताललाई जानकारी गराई स्वास्थकर्मी पठाउन माग गरेपनि जिल्ला अस्पताल नै बेखबरमा रहेको स्थानीय सन्तोष ऐडीले बताए ।
अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक उब्जन रोकायाले सो समस्याको बारेमा बुझी तत्कालै कर्मचारीलाई सम्पर्कमा ल्यार्ई स्वास्थचौकीमा पठाउने बताए ।
स्वास्थ्यचौकीमा कर्मचारीसँगै औषधिको पनि समस्या रहेको र गाउँपालिका समाधानका लागि प्रयासरत रहेको रोकायाले बताए ।