सुख्खा मौसमसँगै रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा खानेपानीको अभाव भएको छ ।
पानी अभावका कारण पानी बोक्नुपर्ने भएकाले विद्यार्थी पढ्नसमेत आउन छाडेको सघन आधारभूत विद्यालयका शिक्षक तिलाचन तामाङले बताए ।
पानी थाप्नका लागि ७-८ घण्टा लाइन बस्नु पर्ने भएका कारण छोराछोरीलाई विद्यालय पठाउन छाडिएको मानेभञ्याङ्ग–५ की २६ वर्षीया रमिला राना मगरले बताइन् ।
उनले पानीको जोहोका लागि बिहानको समय धारामै जाने भएका कारण छोराछोरीलाई पानी थाप्न पठाएर आफूलाई घरधन्दा गर्दै ठिक्क हुने हुँदा छोराछोरीलाई विद्यालय नपठाउन बाध्य भएको बताइन् ।
पानी अभावका कारण पशु चौपायालाई समस्या भएको कृष्णकुमारी राना मगरले बताइन् । उनले भनिन्–‘मान्छेले त जसोतसो पानी अभाव थेगेकै छौँ । सबैभन्दा समस्या त घरपालुवा पशु चौपायालाई पानी खुवाउने सन्दर्भमा भएको छ । गाईवस्तुलाई आधा पानी खुवाउनु पर्दा नराम्रो लाग्छ ।’
खानेपानी अभावकै कारण चौपाया पाल्ने रानागाउँका धेरैजसो वेशी सिक्तेलपिखुवा खोलातिर बसाई सरेका छन् ।
रानागाउँ आसपासका ओडारे, लट्रीडाँडा, जुकेपानीमा जम्मा तीनओटा कुवा रहेकोमध्ये ओडारेको कुवा पुरै सुकेको छ भने जुकेपानीको कुवामा १० घरधुरीलाई डेढ गाग्री जति खानेपानी दुःखसुख पुग्छ ।
रानागाउँमा मात्रै नभई ५ सय १७ घरधुरी रहेको मानेभञ्ज्याङमा वर्षेनी खानेपानीको अभाव हुने गरेको छ ।
यहाँका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुराँसेलगायत खानेपानीको उच्च जोखिमका स्थानहरूमा सुख्खा र खानेपानीको अत्यन्तै समस्याका कारण अर्चले, भोर्लेनी र अगौटेका करिब ७० घरधुरी बस्तीहरू यसअघि नै गाउँबाट विस्थापित भइसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पानी अभावका कारण बसाई सर्ने क्रम बढेकाले स्थानीय सरकारले पानीको व्यवस्थाका लागि काम गरिरहेको गाउँपालिका अध्यक्ष विजय राईले बताए ।
यस वर्षको बजेटमा पिखुवा खोलाको पानीलाई डिप बोरिङ गरेर पानी अभावको समस्या समाधान गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ ।
