शरीरमा मटितेल खन्याएरआगो लगाइ पत्नी निर्मला यादवको हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नपा–१ चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवलाई गिरफ्तार गरी वैशाख २६ गते पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ ।
२० वर्षीया निर्मला यादवलाई आरोपितले वैशाख ५ गते मटितेल जिउमा खन्याएर आगो लगाएका थिए । गम्भीर घाइते बनेकी निर्मलाको काठमाडौँ किर्तिपुर अस्पतालमा उपचारको क्रममा वैशाख १६ गते मृत्यु भएको थियो ।
घटनापछि फरार मुकेशलाई प्रहरीले विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर गड्डाचौकीमा रहेको प्रहरी चौकीले वैशाख २५ गते गिरफ्तार गरी धनुषा जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो ।
भाउजुसँगको सम्बन्धको कारण मुकेशले पत्नी निर्मलालाई हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मुकेशले दिएको वयानको आधारमा उनकी २५ वर्षीया भाउजु श्यामा देवी यादवलाई पनि गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वैशाख ५ गते दिउँसो घरमा कोहि नभएको मौकाछोपी आरोपितले निर्मलाको हातगोडा बाँधेर जिउमा मटितेल खन्याई आगो लगाका थिए ।
आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि गम्भीर घाइते निर्मलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतल लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँको किर्तिपुर अस्पतालमा लगिएको थियो ।
निर्मलाको १० महिनाअघि मात्र समाजिक परम्परा अनुसार विवाह भएको थियो । माइतीपक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सबैलामा वैशाख ९ गते उजुरी दिएको थियो ।