INSEC Online

📅 २०८३ जेष्ठ २१

गलत समूहको रगत चढाउँदा बालिकाको मृत्युः अस्पतालले लापरवाही गरेको आरोप

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा ज्यान गुमाएकी  सर्लाही सिसौरियाकी पाँच वर्षीया बालिका आकृतीकुमारी साहकोको शव त्रिवी शिक्षण अस्पताल पुर्‍याइएको छ ।

अस्पतालको लापरबाहीको कारणले बालिकाको ज्यान गएको भन्दै परिवारजनले शव नबुझ्ने अडान लिएपछि शवलाई चिस्यान केन्द्रमा राख्नका लागि वैशाख २३ गते प्रहरीको सहायताले शिक्षण अस्पताल पु¥याइको हो ।

मृतकका परिवारजनले सम्बन्धित चिकित्सकलाई कारवाही र बालिकाको परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताएपछि २३ गते दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईको नेतृत्वमा शव त्रिविवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको प्रहरीले जनायो ।

मृतकका आफन्तले सुरूमा शव बुझ्न नमान्दै गङ्गालाल परिसरमा आन्दोलन गरेका थिए । आफन्तका अनुसार मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ  भने रगत चढाइएको रिपोर्टमा भने ‘ए’ पोजिटिभ लेखिएको छ  ।
मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाका क्रममा अर्कै समूहको रगत चढाएपछि मृत्यु भएको पीडित परिवारजनले बताएका छन् । उपचारकै क्रममा बालिकाको वैशाख २३ गते बिहान ४ः४० मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बालिकाको मृत्यु भएको पुष्टि गर्दै उनको मृत्युको कारणबारे एक समिति बनाई छानविन अगाडि बढाएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

बालिको अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको पीडित पक्षको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनीति गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनबीच विवाद भइरहेको छ  ।

अस्पतालले बालिकाको रगत समूह ‘ए’ पोजिटिभ नै थियो भन्ने जबरजस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीन ओटा रिपोर्टमा केरकार गरी आफैँले लेखेको ‘ओ’ पोजिटिभको ठाउँमा ‘ए’ पोजिटिभ बनाइएको मृतक बालिकाकी हजुरबुबा श्याम साहले बताए ।

अन्य

भिडियो