INSEC Online

📅 २०८३ जेष्ठ २१

बृद्ध मजदुरको बाध्यताः हथौडा नउचाली पेट भरिन्न !

सडक किनारामा दिनभरी हथौडा नचलाए बेलुका भोकै बस्नुपर्छ उनलाई । सेताम्य कपाल, चाउरी परेको अनुहार र गलेका हातगोडाले अझै आराम गर्न पाएका छैनन् । पारिलो घाम र कठ्याङ्ग्रिदो चिसोमा पनि सडक किनारामा हतौडा र ढुङ्गा ठोक्काएर कोलाहल गर्ने उनको रहर होइन, बाध्यता हो । दशरथचन्द नगरपालिका–४ बाल्लेककी ६५ वर्षीया बृद्धा धौली भुलको दैनिकी हो यो । आर्थिक अभावले हातमुख जोड्न धौधौ भएकाले नै उनी बुढ्यौलीमा पनि दिनभरी गिट्टी कुट्न बाध्य छिन् । बिहान ६ बजेको झिस्मीसेमा गिट्टी कुट्न छाप्रोबाट निस्केर बेलुका ७ बजेसम्म हथौडासँग खेल्नमै उनको दिनचर्या बितिरहेको छ । आर्थिक अवस्था कमजोर, पतिको मृत्यु जस्ता बाध्यकारी समस्याले उनी बृद्धाअवस्थामा समेत आफ्नो दिनचर्या गिट्टी कुट्नमानै बिताउँछिन् ।

उनीसँग काम गर्ने अरु महिलाहरुले दिनभरी काम गरेर दैनिक ६ सय  ज्याला पाउँछन् । उनको आशा भने दिनको २–३ सय भन्दा माथिको छैन । ‘केही वर्ष अगाडिसम्म मैलेपनि ढुङ्गा बोकी पूरा ज्याला पाउँथे तर अहिले पाकोपना बढ्दै गयो त्यसैले दिनको ३ सयमै भएपनि चित्त बुझाउँछु ।’–उनले भनिन्–‘बुढेसकालमा सकिनसकी घिच्चिएर गिट्टी कुटीरहेकी छु । पानी परेको दिन गिट्टी कुट्न नपाइए बेलुका के खाने ? भन्ने चिन्ता हुन्छ ।’ आफैँले ढुङ्गा बोकेर ल्याएपछि प्रति कट्ठा गिट्टीका ७० रुपियाँ पाइन्छ । अर्काले बोकेको ढुङ्गा भए प्रतिकट्ठा ५० रुपियाँमा बेचिने गरेको उनको भनाई छ ।

उनले भनिन्–‘ढुङ्गा कुट्न सजिलो भए दिनमा ५ कट्ठासम्म पनि बनाउन सकिन्छ । कहिले त २ सय रुपियाँको पनि कुट्न सकिँदैन । बासको लागि एउटा चुहिने छाप्रो छ । जग्गा जमीन केही छैन ।’ सडक नजिक जहाँ गिट्टी कुट्न सजिलो हुन्छ त्यतै दिन बिताउने बृद्धा धौली भुल अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पनि गढी गोठलापानी सडकमै थिइन् ।

photo20190501baitadi

अन्य

भिडियो