प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
महादेवपुरी गाविसकी १५ वर्षीया बालिकाले आफूसँग एक युवकले प्रेम सम्बन्धमा फसाएर यौन शोषण गरी समाजमा बस्न नसक्ने अवस्थामा पुर्याएको र उसकै कारणले आत्महत्या गर्न गएको भन्दै ‘सुसाइड नोट’ लेखेर ०७३ भदौ २३ गते झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
पीडित पक्षले इलाका प्रहरी कार्यालयमा असोज २ गते जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित पक्षले कात्तिक ३ गते उच्च अदालतमा रिट दायर गरेको थियो ।
उच्च अदालतका न्यायाधीश बिरबहादुर डाँगीको इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दिएको पीडित पक्षबाट बहस गरिरहेका कानुन व्यवसायी लोकबहादुर शाहले बताए ।