चारैतिर अग्लो पर्खाल । पर्खालमाथि काँडेतार । सटर सहितको भोटे ताल्चा ठोकीएको भित्री गेट र पर्खालमाथि कडा प्रहरी सुरक्षा । त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट खुला आकाश र आकाशमा घुमिरहेका पंछी बाहेक अरु केही देखिँदैन । हेरौँ भने त्यही खुला आकाश, नहेरौँ दिउँसै रात परेका कोठा । यो दृष्य हो जुम्ला कारागारको । कारागारमा रहेका ८४ जना कैदीबन्दीले यसको राम्रोसँग महसुस गरेका छन् । जीवनको कालखण्डमा कैदीबन्दीका लागि कारागार एउटा छुट्टै र अध्यारो संसार पनि हो । त्यहाँ उनीहरूलाई थप पीडाको महसुस हुन्छ तर पीडा व्यक्त गरी समाधान गर्ने विकल्प पनि छैन ।
तर विगत दुई महिना अघि शुरु भएको कारागारमा पुस्तक अभियानले केही हदसम्म भए पनि कैदी बन्दीको पीडा घटाउन तथा उनीहरूलाई स्वतन्त्रता र बरालिएको मन बटुल्ने अनुभूति गराउन मद्दत गरेको छ । कैदी बन्दीको यसअघिको पीडालाई मध्यनजर गरी शुरु भएको अभियानले उनीहरूलाई स्वतन्त्रतासहितको अध्ययनशील संसारको अनुभूति गराएको हो । जुम्लाबाट शुरु भएको यो अभियान हाल कर्णाली प्रदेशका सबै कारागारमा लागु छ । जुम्ला कारागारमा पुस्तकालय स्थापनापछि कैदीबन्दीको अध्ययन गर्ने बानीसमेत विकास भएको छ । यसले उनीहरूको सोचाइमा समेत सकारात्मक परिवर्तन ल्याउन खोजिएको छ ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू उपलब्ध छन् । भने अझै पुस्तक जम्मा गर्ने काम भइरहेको छ । त्यहाँ कैदीबन्दीले आफ्नो रुचिअनुसारकै पुस्तक अध्ययन गर्ने गर्दछन् । एक औपचारिक कार्यक्रमबीच शनिबार लेखक तथा उपन्यासकार शिवानीसिंह थारुले उक्त पुस्तकालयको उद्घाटन समेत गरिन् । सो अवसरमा कैदीबन्दी दलबहादुर कार्कीले भने, ‘पुस्तक अध्ययनले ज्ञान मात्र होइन सकारात्मक सोचको पनि विकास हुँदोरहेछ, हामीले अहिले किताबमै स्वतन्त्रता सहितको नयाँ संसार भेट्न थालेका छौँ ।’ विनोद शाहीलाई समेत पहिले दिन कटाउन मुस्किल हुन्थ्यो । तर अहिले पुस्तक अध्ययनले दिन बितेको थाहा हुँदैन । उनले भने, ‘बाहिर जे जस्तो अपराध गरेर जेल आए पनि अब भने पुस्तक अध्ययनले सबै कैदी साथीहरूमा अपराधिक मानसिकता हराउने अपेक्षा छ ।’
यस अभियानले कैदीबन्दीको जेल बाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशैभर लागु गर्न आवाश्यक रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइ छ ।