मकवानपुरमा हुने अधिकांश लैङ्गिक हिंसाका घटनाका पीडित चिनजानका व्यक्ति, परिवार र नजिकका सम्बन्धबाट बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ । हेटौँडा अस्पतालस्थित अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएम्सी) ले ०८३ साउन ४ गते सार्वजनिक गरेको आ.व ०८२/८३ को वार्षिक समीक्षा प्रतिवेदनले हिंसाका अधिकांश घटना विश्वासको घेराभित्रै हुने गरेको देखाएको हो । प्रतिवेदनअनुसार आ.व ०८२/८३ मा ओसीएम्सीमा कुल ३ सय २२ वटा हिंसाका घटना दर्ता भएका छन्, जुन अघिल्लो आ.व को तुलनामा ३५ ले बढी हो । दर्ता भएका घटनामध्ये २ सय ४९ नयाँ र ७३ पुराना (फलोअप) घटना रहेका छन् । नयाँ घटनामध्ये २ सय २७ जना परिचित व्यक्तिबाट र २२ जना अपरिचित व्यक्तिबाट हिंसामा परेका छन् । परिचित व्यक्तिमध्ये समुदायका सदस्यबाट ५७ जना, पतिबाट ४२ जना, प्रेमी–प्रेमिकाबाट ४१ जना, परिवारका अन्य सदस्यबाट २६ जना, आफन्तबाट १७ जना र कर्मचारीबाट ८ जना पीडित भएका छन् । तथ्याङ्कले अधिकांश हिंसा आफ्नै चिनजान र विश्वासको सम्बन्धभित्रै हुने गरेको पुष्टि गरेको छ । हिंसाको प्रकृतिअनुसार जबर्जस्ती करणीका ९५ र शारीरिक हिंसाका ९४ घटना सबैभन्दा बढी दर्ता भएका छन् । यस्तै घरेलु हिंसाका ३६, यौनजन्य हिंसाका २२, बालविवाहका १७, मानसिक हिंसाका ४ तथा अन्य प्रकृतिका ५४ घटना अभिलेख भएका छन् । पीडितमध्ये २ सय ७१ जना महिला र ५१ जना पुरुष रहेका छन् । उमेर समूहअनुसार १९ देखि ४९ वर्षका ९९ जना सबैभन्दा बढी प्रभावित भएका छन् । त्यसपछि १५–१८ वर्षका ९४ जना, १४ वर्षमुनिका ७६ जना, ५०–६० वर्षका १३ जना र ६० वर्षमाथिका ३ जना रहेका छन् ।
स्थानीय तहअनुसार हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी १ सय ६४ घटना दर्ता भएका छन् । त्यसपछि मनहरी गाउँपालिका ४०, मकवानपुरगढी २३, बकैया २२, राक्सिराङ १९, भीमफेदी १७, बागमती नौ, थाहा नगरपालिका सात, कैलाश चार र इन्द्रसरोवरका दुई ओटा घटना रहेका छन् । अन्य जिल्लाका २४ घटना पनि केन्द्रमा दर्ता भएका छन् ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा केन्द्रले १ हजार ३ सय ३१ जनालाई विभिन्न सेवा प्रदान गरेको छ । पीडितमध्ये १ सय ३४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने १ सय १२ जनालाई थप कानुनी तथा प्रशासनिक प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । केन्द्रले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षित आवास, पुनःस्थापना तथा सुरक्षा निकायसँग समन्वय गर्दै आएको जनाएको छ । पीडितको आर्थिक सबलीकरणका लागि होटल व्यवसाय सञ्चालन, बाख्रा पालन तथा साना व्यवसायका सामग्रीसमेत उपलब्ध गराइएको छ । पछिल्ला वर्षहरूमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा देखिए पनि अझै धेरै पीडित केन्द्रसम्म पुग्न नसक्ने र कतिपयले घटना दर्ता गर्नसमेत नमान्ने चुनौती कायम रहेको ओसीएम्सीद्धार जानकारी दिइएको छ ।