INSEC Online

📅 २०८३ श्रावण ७

चार महिनादेखि जनस्वास्थ्य प्रयोगशालाको सेवा ठप्प

तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपा जनस्वास्थ्य प्रयोगशालामा आवश्यक केमिकल अभावका कारण विगत चार महिनादेखि ल्याब सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । उपचार गराउन आएका बिरामीहरू आवश्यक प्रयोगशाला परीक्षणका लागि निजी प्रयोगशाला वा अन्य स्वास्थ्य संस्थामा जान बाध्य भएको स्थानीय सेवाग्राही ३० वर्षीय पशुपति मण्डलले बताउनुभएको छ । आमालाई सुगर जाँच गराउन स्वास्थ्य संस्थामा पुगेका ३१ वर्षीय जितेन्द्र खंगले आवश्यक सेवा उपलब्ध नभएपछि बाहिर चर्को मूल्य तिरेर परीक्षण गराउनुपरेको बताउनुभयो ।

०८३ जेठ १८ गते २८ वर्षीय रिजमान मनसुरी स्वास्थ्य जाँचका लागी पुगेका थिए। तर आवश्यक केमिकल नभएकाले परीक्षण हुन सकेन र उनी रित्तै फर्किनुपरेको बताउनु भयो । प्रयोगशालाकी ल्याब टेक्निसियन अस्मिता मिश्राका अनुसार २०८२ चैत ८ गतेदेखि आवश्यक केमिकल सकिएपछि हाल युरिन, दिसा (स्टुल) र रक्तसमूह (ब्लड ग्रुप) परीक्षण मात्र भइरहेको छ । रगत, बायोकेमिस्ट्रीलगायत अन्य आवश्यक परीक्षण सेवा पूर्ण रूपमा बन्द रहेको उहाँले बताउनु भएको छ । केमिकल उपलब्ध गराइदिन वैशाख महिनामै माग फाराममार्फत तिलाठी कोइलाडी गाउँपालिका र मधेश प्रदेश सरकारसमक्ष अनुरोध गरिएको थियो। “पहिले दैनिक ८ देखि १० जना बिरामीको ल्याब परीक्षण हुने गरेको थियो। अहिले अधिकांश सेवा बन्द भएपछि बिरामीको संख्या पनि घटेको छ,“ मिश्राले जानकारी दिनुभयो । वडा नम्बर ८ का वडा अध्यक्ष सत्यनारायण यादवले प्रयोगशालामा जडान गरिएको मेसिनमा सम्बन्धित कम्पनीकै केमिकल प्रयोग गर्नुपर्ने भएकाले आपूर्तिमा समस्या भएको बताउनु भयो। उहाँले आवश्यक पहल भइरहेको जनाउँदै शिघ्र केमिकल उपलब्ध गराई सेवा नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 नविन यादव

अन्य

भिडियो