बङ्गालको खाडी हुँदै कोशी प्रदेशमा असार ५ गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका हिमाली र पहाडी जिल्लामा प्राकृतिक विपद्का घटनामा वृद्धि भएको छ ।
प्राकृतिक विपद् प्रभावित जिल्लाका विभिन्न ठाउँमा पुल र सडक पहिरोले बगाउँदा एम्बुलेन्स, स्कूलका गाडी, औषधि बोकेका सवारी साधन सञ्चालनमा समस्या भएको छ । जसका कारण बिरामी, विद्यार्थीलाई समस्या भएको छ ।
ताप्लेजुङ, पाँचथर र इलाममा मनसुन सक्रिय भएपछि प्राकृतिक विपद्का घटनामा वृद्धि भएको हो । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ ।
इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा वर्षापछिको पहिरोले दुई ओटा घरमा क्षति पुर्याएको छ । सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा पहिरोले दुई घरमा क्षति पुर्याएको हो । साब्लाखु प्रहरी चौकीका अनुसार कालिखोला निभारेका जीवनाथ बानियाँ र मेहरमान बानियाँको घरमा पहिरोले क्षति पुगेको छ । पहिरोले घरमा पूर्ण रूपमा क्षति भएपनि मानवीय क्षति नभएको कालिखोलाका वडा सदस्य टइन्द्रप्रसाद चापागाईँले बताउनु भयो । जीवनाथको घर पहिरोले बगाएको र मेहरमानको घर बस्न नमिल्ने गरी क्षति पुर्याएको वडा सदस्य चापागाईँले बताउनु भयो ।
घर संरचना र सामग्रीसहित करिब ९ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घर नै पहिरोले बगाएपछि उद्दार तथा क्षतिको विवरण सङ्कलन थालिएको साब्लाखु प्रहरी चौकीका असई पदमबहादुर तामाङले बताउनु भएको छ ।
इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लाको फालेलुङ गाउँपालिका–२ वरडाँडाका आठ ओटा घर पहिरोको उच्च जोखिममा परेका छन् । जोरपोखरी–मेमेङ सडक खण्डमा खसेको पहिरोका कारण ती घर उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
सडकमाथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा साउन ४ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै आसपासका घर जोखिममा परेका हुन् । बाटो बन्द हुँदा एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जोखिममा परेका घरका सदस्यहरूलाई उद्दारको तयारी गरिएको बताउनु भयो । पहिरो गएको स्थानभन्दा करिब २० मिटरमाथि रहेका आठ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरधनीमध्ये गजेन्द्र खत्रीका पाँच, यादव खत्रीका तीन, पदमबहादुर खत्रीका छ र कोमलनाथ खत्रीका चार तथा पुरुषोत्तम खत्रीका छ जना परिवारका सदस्य जोखिममा छन् ।
पहिरोले घर पुर्ने वा तान्ने जोखिम बढे पनि स्थानीय आफ्नै घरमा बसिरहेको भेटिएकाले स्थानान्तरणका लागि पहल थालिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।
फालेलुङ गाउँपालिका–२ कै दीपक कँडेल र फालेलुङ–३ का मनकुमार केरुङको घर पनि पहिरोको जोखिममा छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका प्रमुखसहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणपछि स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी थालिएको छ ।
नावाखोलामा बाढी आउँदा तमोर कोरिडोर अवरुद्ध छ । यो सडक अवरुद्ध हुँदा पाँचथर र ताप्लेजुङबाट धरान र विराटनगर हुँदै विभिन्न स्थान र ती स्थानबाट पाँचथर र ताप्लेजुङका लागि छुटेका सयौँ सवारी र ढुवानीका साधन बाटोमा अलपत्र परेका छन् ।
मेची राजमार्गको इलाम खण्डमा पर्ने राजदुवाली र वैकल्पिक सडकमा क्षति पुग्दा यो बाटो भएर एक सातायता सवारी र ढुवानीका साधन छुट्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ । मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द भएपछि त्यसको सास्ती पूर्वी नेपालका हिमाली र पहाडी जिल्लाका स्थानीयले पाएका छन् ।
इलामबाट झापा जानका लागि साउन लागेयता भरपर्दो कुनै पनि सडक छैन । राजमार्गको वैकल्पिक रूपमा रहेका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकको बीचमा पर्ने पुवाखोला र जोगमाई खोलामा बनाइएका डाइभर्सनहरू बाढीले बगाउँदा पूर्वी पहाडका बिरामीले सबैभन्दा बढी सास्ती पाएका छन् ।
पुवा खोला र जोगमाइ खोलमा बाढी घटेपछि डाइभर्सन बनाइए पनि पुन बाढी आउनासाथ बगाउने गरेकाले ठूलो समस्या भइरहेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले बताउनु भयो । राजदुवाली सडक खण्डमा भने खोला क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको र माथिबाट सडक भासिएर झरिरहेकाले तत्काल राजमार्ग खुल्न सक्ने अवस्था नरहेको घिमिरेको भनाइ छ र
राजमार्गसहित सबै सडक बन्द भएपछि इलाम–झापा आउजाउका लागि बिरामीलाई स्ट्रेचरमा बोकेरै पहिरो पार गराउनुपरेको छ । सडक ठप्प भएपछि इन्धन र खाना पकाउने ग्याँससहित दैनिक उपभोग्य सामग्रीको जिल्लामा अभाव हुन थालेको छ ।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले भित्रिएका दैनिक उपभोग्य सामग्रीहरूमा पनि अत्यधिक ढुवानी खर्च जोडिएकाले उपभोक्ताले महँगो मूल्य तिरिरहनु परेको बताउनु भएको छ ।