INSEC Online

📅 २०८३ श्रावण १

सङ्खुवासभामा यौनजन्य घटनामा वृद्धि

जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनामा वृद्धि भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार वर्षको अविधमा महिलाविरूद्ध हिंसाका १ सय १ ओटा घटना दर्ता भएका छन । बलात्कार तथा यौन दुर्व्यवहार घटनामा १ सय १८ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष ०७९ देखि २०८२ र ०८३ सम्म महिला तथा बालबालिकाविरूद्धका हिंसामा १ सय भन्दा बढी पीडित भएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।

गत आर्थिक वर्ष  १६ ओटा घटना दर्ता भएकामा आर्थिक वर्ष २०८२ र ०८३ मा यो संख्या बढेर ३५ पुगेको डिएसपी मैनालीले बताउनु भयो । एक वर्षको अवधिमै १९ ओटा घटना थपिँदा अपराधका घटनामा १ सय १८ प्रतिशतले बढेको डिएसपी मैनालीको भनाइ छ ।

प्रहरीले १ सय ४८ ओटा मुद्दा दर्ता भएकोमा १ सय ४४ ओटा फैसला गरेको छ । जिल्ला प्रहरी कार्यालयमा  दर्ता भएका कुल मुद्दामध्ये ९७ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महिला तथा बालबालिकामाथि हुने हिंसा, यौनजन्य अपराध र घरेलु हिंसाका घटनाप्रति सचेतना कार्यक्रम सञ्चालन गरिए पनि घटनाको संख्या बढ्दो क्रममा रहेको छ ।

महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।

भविन कार्की

अन्य

भिडियो