INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका मुद्दाहरु धमाधम मुल्तबी

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेका आरोपित शम्भुनाथ नपा–२ बस्ने २४ वर्षीय संजय सदाविरुद्धको मुद्दा जिल्ला अदालतले ०७५ फागुन ३० गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले ०७४ असोज ४ गते अदालतमा दर्ता भएको सदाविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।

शम्भुनाथ नपा–२ स्थित खाँडो खोलाको बगरमा गाईबस्तु चराउन गएकी बालिकालाई आरोपितले नियन्त्रणमा लिई झाडी जंगलमा पु¥याई ०७४ वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले ०७४ बैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बैशाख १४ गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरूद्ध जेठ २ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो ।

यसैगरी खडक नपा–८ खोजपुरका पशुपति चाँैधरीविरुद्धको जबरजस्ती करणीको मुद्दा पनि फागुन ३० गते नै अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले ०७२ चैत २१ गते अदालतमा दर्ता भएको सो मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।

यसअघि फागुन २८ गते समेत १५ वर्षीया एक बालिकालाई बलात्कार गरी फरार रहेका कञ्चनरुप नपा–६ का २२ वर्षीय मौसम भनिने मोसमकुमार चौधरीविरुद्धको जबरजस्ती करणी मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले ०७२ जेठ १२ गते अदालतमा दर्ता भएको सो मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित राजविराज नपा–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्धको मुद्दा समेत न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले ०७५ फागुन ६ गते मुल्तबीमा राख्ने फैसला गरेको थियो ।

अदालतमा ०७० चैत ५ गते दर्ता भएको उक्त मुद्दाका फरार आरोपित फेला नपरेपछि मुद्दा मुल्तबीमा राख्ने फैसला भएको हो ।

लामो अवधिसम्म आरोपितहरु गिरफ्तार हुन नसकेपछि वा हाजिर हुन नआएपछि मुद्दा मुल्तबीमा राख्ने गरिन्छ ।

स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार मुद्दा मुल्तबीपछि पनि त्यस्ता आरोपित फेला परेमा अदालतले कसुरअनुसार तोकिएको दण्ड जरिवाना गर्ने व्यवस्था छ ।

उजुरी दर्ता गर्ने प्रहरी र अभियोग दावी गर्ने जिल्ला सरकारी वकिल कार्यालयको सम्पर्कमा पीडित पक्ष नहुने, साक्षीहरु बकपत्रका लागि अदालत नआउने र आरोपितहरु फेला नपर्ने क्रम बढेपछि मुद्दा मुल्तबीमा जाने संख्या बढ्दै गएको छ ।

प्रहरी कार्यालयमा दर्ता हुने उजुरीमा आरोपितको नाम, ठेगाना गलत हुने गरेका कारणले मुद्दा मुल्तबीमा राख्नु पर्ने अवस्था सृजना भएको अदालतका कर्मचारीहरु बताउँछन् ।

चलखेलका कारण आरोपितलाई गिरफ्तार गर्न प्रहरी गम्भीर नहुने गरेका कारण आरोपितहरु गाउँघरमा फेला नपरेको भनी प्रहरीले प्रतिवेदन दिने गरेको र त्यसै आधारमा मुद्दा मुल्तबीमा पर्ने गरेको पीडितहरुको कथन छ ।

१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित शम्भुनाथ नपा–९ बज्रहटका २६ वर्षीय श्रीदेव मुखिया र सोही ठाउँका २४ वर्षीय गुरुदेव मुखियाविरुद्धको मुद्दामा समेत ठेगाना नमिलेपछि जिल्ला अदालतले फागुन ३० गते नै ठेगाना खुलाउन लगाउने आदेश गरेको छ ।

ट्युववेल बनाउन आएका मिस्त्री श्रीदेव र गुरुदेवले घर नजिकैबाट नियन्त्रणमा लिई शम्भुनाथ नपा–६ स्थित भवरा बाह्र विगहा चौरीमा लगेर ०७२ माघ १६ गते राति बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७२ माघ १९ गते दर्ता गरेपनि आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा ०७२ माघ १८ गते गरिएको थियो ।

अदालतले ०७२ फागुन १९ गते आरोपितहरुविरुद्ध वारेण्टसहितको म्यादी पुर्जी जारी गरेपनि गिरफ्तार हुन नसकेका आरोपितको ठेगाना खुलाउन जिल्ला अदालतबाट ०७३ मंसिर १४ गते समेत आदेश भएको थियो ।

ठेगाना नमिलेका कारण यो मुद्दा समेत मुल्तबीमा जाने सम्भावना रहेको अदालतका कर्मचारीहरु नै बताउँछन् ।

अन्य

भिडियो