मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा–बालङ्खा–रानीटार सडक खण्डको स्थलगत अनुगमनका लागि पुगेका प्राविधिकमाथि कामदारको समूहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
रामप्रसाद राई गाउँपालिकामा सडकको अवस्था हेर्न पुगेका पूर्वाधार विकास कार्यालय भोजपुरका प्राविधिक आनन्दकुमार साहमाथि कार्यरत कामदारहरूले ०८३ असार १६ गते कुटपिट गरेको पीडितको आरोप छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटी गरी ६ जनालाई असार १६ गते गिरफ्तार गरेको छ ।
कुटपिटबाट घाइते भएका पीडितको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र दुवै पक्षको बयान लिएपछि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरले कार्यक्षेत्रमा खटिएका कर्मचारीमाथि भएको कुटपिटको विरोध गर्दै दोषीमाथि कारबाही गर्न र फिल्डमा खटिने कर्मचारीको सुरक्षा ग्यारेन्टी गर्न माग गरेको छ ।