सिलिचोङ गाउँपालिका–१ मा पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरधुरी विस्थापित भएका छन । वर्षासँगै बाढी पहिरोका कारण सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन् ।
सिलिचोङ गाउँपालिका–१ तल्लो र माथिल्लो तेन्छोङमा २८ घर परिवार विस्थापित भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनु भयो ।
पहिरोले सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा रहेको सामुदायिक स्वास्थ्य इकाई समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।
सामुदायिक स्वास्थ्य केन्द्र रहेको जमिनको माटो पहिरोले तान्न थालेपछि तेन्छोङमा सामुदायिक स्वास्थ्य इकाई जोखिममा परेको प्रहरीले जनाएको छ ।
पहिरोबाट सिलिचोङ गाउँपालिका–१ तल्लो तेन्छोङका मनकुमार राई, नौ बहादुर राई, मन बहादुर राई,धान राम राई,तिलक प्रसाद राई,नरेश कुलुङ,योगेन्द्र राई,विजय राई,मणिधन राई,सन्तोश राई,नन्दु राई,धन बहादुर राई,कल्पना राई,आश्रम राई,प्रविसुक राई,अग्रज राई,पूर्णमान राई,फगेन्द्र राई,बाबुराम राई,विन्दुर राई विस्थापित भएका छन् ।
सिलिचोङ गाउँपालिका–१ तेन्छोङका कुन्ती राईको ५ जनाको परिवार, धनपूर्ण राईको ७ जनाको परिवार,मङ्गल बहादुर राईको ६ जनाको परिवार,सुक प्रसाद राईको ४ जनाको परिवार,मिरा राईको ५ जनाको परिवार, धनमान राईको ३ जनाको परिवार र अरुण सङ्गम राईको घर विस्थापित भएका छन । पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी अनिल भुजेलको कमाण्डमा १० जनाको टोली पहिरो प्रभावितस्थलमा खटिएको छ । सिलिचोङ गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढी तथा पहिरो प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनु भएको छ ।