INSEC Online

📅 २०८३ असार १७

हरेक बिहान बल्झिने घाउः २२ वर्षदेखि धैरेनीतर्फ पुगिरहने तीन आमाका आँखा

हरेक बिहान घाम झुल्किनुअघि बगनासकाली गाउँपालिका–४, महछाप खानीछापका तीन घरका आँगनमा एउटै दृश्य दोहोरिन्छ। घरको डिलमा उभिएर तीन आमाका आँखा करिब दुई किलोमिटर तल सिद्धार्थ राजमार्गको धैरेनी मोडतर्फ पुग्छन्। त्यही मोड, जहाँ २२ वर्षअघि फागु खेल्न गएका तीन किशोर नेपाली सेनाको गोली लागेर ढलेका थिए।

गाउँ फेरिएको छ। सडक फराकिलो भएको छ। पुस्ता फेरिएका छन्। तर इन्द्री कनौजे, हुमीसरा गाहा र मनिसरा दर्लामीका आँखामा बसिरहेको त्यो साँझ भने कहिल्यै फेरिएको छैन। हरेक बिहान त्यही मोडमा पुग्ने नजरसँगै पुरानो घाउ फेरि बल्झिन्छ।

६७ वर्षीया इन्द्री कनौजे घरको आँगनबाट धैरेनीतर्फ हेर्दै भक्कानिनुहुन्छ। “बिर्सु भन्छु, तर सक्दिनँ। बिहान आँखा खुल्नेबित्तिकै नजर त्यतैतिर पुगिहाल्छ। त्यो ठाउँ देख्नेबित्तिकै छोरा नारायणको अनुहार आँखा अगाडि आइहाल्छ।”

२०६१ साल चैत ९ गते १७ वर्षीय नारायणबहादुर कनौजे एसएलसी परीक्षा सकेर साथीहरूसँग फागु खेल्न घरबाट निस्किएका थिए। घर छोड्ने बेला उनले आमालाई भनेका थिए, “परीक्षा सकेर फागु खेलेर फर्किन्छु।”

तर त्यो विदाइ अन्तिम विदाइ बन्यो। उनी फेरि कहिल्यै घर फर्केनन्।

छोराको तस्बिर सुम्सुम्याउँदै इन्द्री भन्नुहुन्छ, “बाँचेको भए आज ३९ वर्षको हुने थियो। बिहे हुन्थ्यो, छोराछोरी हुन्थे। हाम्रो घर पनि रमाइलो हुन्थ्यो होला। तर भगवान्ले त्यो खुसी नै खोसिदियो।”

इन्द्रीका लागि धैरेनीको त्यो मोड कुनै साधारण ठाउँ होइन। त्यो उहाँको जीवनलाई दुई भागमा बाँड्ने सीमारेखा हो—एउटा छोरा भएको समय, अर्को छोरा गुमाएपछिको समय।

इन्द्रीको घरभन्दा केही माथि ६५ वर्षीया हुमीसरा गाहाको घर छ। उहाँको आँगनबाट पनि धैरेनी स्पष्ट देखिन्छ। बारीमा काम गर्दा होस् वा घरको डिलमा बस्दा, नजर अनायासै त्यही मोडमा पुगिहाल्छ।

“उतैतिर नहेरौँ जस्तो लाग्छ,” उहाँ भन्नुहुन्छ, “तर आँखाले आफैँ खोजिहाल्छ। त्यो ठाउँ देख्नेबित्तिकै टेकबहादुरको सम्झना आउँछ। उसको आवाज अझै कानमा गुन्जिरहन्छ।”

१५ वर्षीय टेकबहादुर गाहा गोली लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनले आमालाई पुकारिरहेका थिए। तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भयो। हुमीसराले छोराको अन्तिम अनुहारसमेत देख्न पाउनुभएन।

“आमालाई बोलाउँदै गएको भन्ने सुनेकी थिएँ,” उहाँ भन्नुहुन्छ, “तर म उसलाई अन्तिम पटक हेर्न पनि पुग्न सकिनँ। त्यो पीडा आज पनि उस्तै छ।”

तीन घरमध्ये सबैभन्दा माथि ७६ वर्षीया मनिसरा दर्लामीको घर छ। अहिले उहाँ कहिले गाउँमा, कहिले छोराछोरीसँग बुटवलमा बस्नुहुन्छ। तर गाउँ फर्किनेबित्तिकै घरअगाडिबाट देखिने धैरेनीको मोडले उहाँलाई फेरि २२ वर्षअघिकै साँझमा पुर्‍याइदिन्छ।

“बिर्सने धेरै प्रयास गरेँ,” उहाँ भावुक हुँदै भन्नुहुन्छ, “तर घरबाटै देखिने त्यो ठाउँले बिर्सनै दिँदैन। मेरो छोरा त्यहीँ ढलेको थियो। त्यतैतिर हेर्दा आज पनि आँखा रसाउँछ।”

उहाँका १५ वर्षीय छोरा दलबहादुर दर्लामी पनि सोही घटनामा मारिएका थिए।

२०६१ साल चैत ९ गते फागु पूर्णिमाको साँझ एसएलसी परीक्षा सकेर फागु खेल्न निस्किएका नारायणबहादुर कनौजे, टेकबहादुर गाहा र दलबहादुर दर्लामी धैरेनी पुगेका थिए। त्यसै बेला गस्तीमा रहेको नेपाली सेनाको टोलीले गोली चलाउँदा तीनै किशोरको मृत्यु भयो।

नारायणबहादुर कनौजे र दलबहादुर दर्लामीको शव भोलिपल्ट बिहान घटनास्थलमै फेला परेको थियो भने टेकबहादुर गाहाको शव पाल्पा अस्पतालमा रहेको थियो।

दुई दशकभन्दा बढी समय बितिसकेको छ। मुलुकमा शान्ति सम्झौता भयो। सरकार फेरिए। संक्रमणकालीन न्यायका बहस चलिरहे। तर यी तीन आमाका लागि त्यो साँझ कहिल्यै समाप्त भएको छैन।

उहाँहरूका लागि धैरेनीको मोड एउटा भौगोलिक स्थान मात्र होइन, हरेक दिन बल्झिरहने स्मृति र पीडाको प्रतीक बनेको छ। बिहान आँखा खुल्नेबित्तिकै त्यही मोड देखिन्छ। साँझ सूर्य अस्ताउँदा पनि त्यही मोड आँखामा पर्छ। अनि मनभित्र उही प्रश्न फेरि उठ्छ— यदि त्यो दिन उनीहरू फागु खेल्न नगएका भए, आज उनीहरूको जीवन कस्तो हुन्थ्यो?

समयले क्यालेन्डरका २२ वर्ष पल्टाइसकेको छ। गाउँ फेरिएको छ। पुस्ता फेरिएका छन्। तर तीन आमाका आँखामा अडिएको धैरेनीको त्यो दृश्य भने आज पनि उस्तै छ। त्यसैले उनीहरू आज पनि एउटै वाक्य दोहोर्याउँछन्—  “बिर्सु भन्छु, तर बिर्सनै सक्दिनँ।”

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो