मकालु गाउँपालिका—१ स्थित सिंहेश्वरी आधारभूत विद्यालय जोखिममा परेको छ ।
पहिरोका कारण विद्यालयसँगै मकालु गाउँपालिका १ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाको घर समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धन बहादुर राजवंशीले बताउनु भयो ।
सिंहेश्वरी आधारभूत विद्यालयको पूर्व–उत्तरतर्फ रहेको करिब पाँच मिटरको पर्खाल भत्किएको छ । पहिरोबाट विस्थापितहरु छिमेकीको शरणमा बसिरहेका छन् ।
कोशी प्रदेशमा ०८३ असार ५ गतेदेखि मनसुन भित्रिएर क्रमश: सक्रिय हुँदै गएपछि भएको वर्षाका कारण आएको बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ ।
पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । पहिरोका कारण सयौँ रोपनी अलैँचीबारी र खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।
फुर्वा वाङढी शेर्पाको १० रोपनी, कुसाङ दोर्ची शेर्पाको ८ रोपनी, आङबाबु शेर्पाको १२ रोपनी, ङिमा छिरिङ शेर्पाको १६ रोपनी, टेन्जिङ नुर्वु शेर्पाको ९ रोपनी तथा ङोडुक शेर्पाको ७ रोपनी अलैँचीबारी पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।
मकालु गाउँपालिका १ मयुमका वाङ्दी छिरिङ शेर्पा, ङाजुङ बुटी शेर्पा, ङिमा थिन्दुक शेर्पा, ङिमा डिकी शेर्पा, आङदावा शेर्पा, लाक्पा रेन्जी शेर्पा, आङनुर्वु शेर्पा र पेमा छिरिङ शेर्पाका गरी सयौँ रोपनी अलैँचीबारीमा पनि क्षति पुगेको छ ।
प्रहरीले प्रभावित क्षेत्रको थप विवरण सङ्कलन जारी रहेको जनाएको छ । निरन्तर वर्षा भइरहेकाले थप बाढी–पहिरोको जोखिम रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।