INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा दुर्व्यवहार हुनेगरेको कैदीबन्दीको गुनासो

जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई प्रहरी तथा कारागार प्रशासनले दुर्व्यवहार गर्ने गरेको कैदीबन्दीको गुनासो रहेको छ ।

कारागारमा कार्यरत सई कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीहरू गुनासो गर्छन् ।

मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्ने सई खड्काको सरूवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टीबाट तालाबन्दी गरी चैत ४ गतेबाट हड्ताल सुरू गरेको जनाएका छन् ।

औषधि उपचार जस्ता अत्यावश्यक सेवामा कारागार प्रशासनले लापरवाहीसमेत गर्ने गरेको उनीहरूको आरोप छ ।

कैदीबन्दीलाई दुर्व्यवहार गरिएको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगको पनि ध्यानाकर्षण भएको आयोग जुम्ला कार्यालयका मानव अधिकार अधिकृत सुरबहादुर परियारले बताए ।

उनले भने–‘प्रहरीले मदिरा सेवन गरे नगरेको मेडिकल रिपोर्ट मागेका छौँ ।’ आयोगले पनि कारागारमा गएर स्थलगत अनुगमन गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका इन्स्पेक्टर प्रकाश केसीले कैदीबन्दी र प्रहरी बीच एक आपसमा केही विवाद भएको सुनिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

‘ङ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता २ सय जनाको छ । कारागारमा हाल ५९ कैैदी र २० जना थुनुवा गरी ७९ जना छन् ।

हाल जिल्ला कारागारमा तीनजना महिला कैदीबन्दी रहेका छन् । सशस्त्र द्वन्द्वका क्रममा २०५९ कात्तिक २८ गते तत्कालिन माओवादीले ध्वस्त पारेको जिल्ला कारागार शान्ति स्थापनापछि पुनर्निर्माण गरिएको हो ।

अन्य

भिडियो