व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा गिरफ्तार गरिएका आठ जना आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत, दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले आठै जनालाई ०८३ असार ४ गते कारागार चलान गर्न आदेश दिएको हो ।
जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार मदनप्रसाद जयसवालले घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएका आठ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको बताउनु भयो । आत्महत्या गर्नुअघि प्रधानाध्यापक धामीले सामाजिक सञ्जालमा नाम उल्लेख गरेका सबै जनालाई कारागार चलान गरिएको छ ।
कारागार चलान हुनेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलीदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, ब्यास गाउँपालिका–४ का ५७ वर्षीय प्रमानन्द भट्ट, सोही ठाउँका ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्रदत्त भट्ट, ६९ वर्षीय हरिदत्त भट्ट र बैतडी जिल्ला पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।
आत्महत्या दुरुत्साह घटनाका आरोपित मध्ये पदमराज भट्ट, हरीदत्त भट्ट, विक्रमसिह कुँवर, दलीदत्त भट्ट, पुष्करराज भट्ट सम्पाल माविकै शिक्षक हुन् । यस्तै खेमराज भट्ट सम्पाल माविको विद्यालय भवन निर्माण गरिरहेका निर्माण व्यवसायी हुन भने नरेन्द्र भट्ट नेपाली काग्रेसका नेता हुन् ।
सम्पाल मावि सुनसेरामा कार्यरत प्रधानाध्यापक धामीले गत जेठ ४ गते सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै विद्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितपक्ष तथा स्थानीय सर्वसाधारण तीन दिनदेखि निरन्तर धर्ना दिदै आएका थिए । जिल्ला अदालते ०८३ असार ४ गते गिरफ्तार गरिएका आर्ठै जनालाई कारागार पठाउने निर्णय गरेसँगै आन्दोलन स्थगित गरिएको छ ।