INSEC Online

जनचेतनाको अभाव र असावधानीले बढ्दै एचआईभी संक्रमण

पर्याप्त जनचेतनाको अभाव, असुरक्षित व्यवहार तथा समयमै परीक्षण नगर्ने प्रवृत्तिका कारण पाल्पामा एचआईभी संक्रमण अझै पनि चिन्ताको विषय बनेको छ। जिल्लामा हालसम्म ८ सय ४२ जना एचआईभी संक्रमित पहिचान भएका छन् भने उपचाररत संक्रमितमध्ये १२ जना बालबालिका रहेका छन्।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार हाल ३ सय ५४ जना संक्रमितले नियमित रूपमा एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) औषधि सेवन गरिरहेका छन्। उनीहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालमा सञ्चालित एआरटी केन्द्रमार्फत उपचार सेवा लिइरहेका छन्।

गत आर्थिक वर्षमा एचआईभी/एड्सका कारण जिल्लामा पाँच जनाको मृत्यु भएको पोखरेलले जानकारी दिनुभयो। उहाँले संक्रमितहरूलाई नियमित रूपमा औषधि सेवन गर्न, स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन तथा स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

पोखरेलले एचआईभीलाई नियमित औषधि सेवनमार्फत नियन्त्रणमा राख्न सकिने भए पनि समाजमा विद्यमान लाञ्छना र भेदभावका कारण कतिपय संक्रमितहरू खुलेर उपचार सेवा लिन हिच्किचाउने गरेको बताउनुभयो। समयमै परीक्षण र निरन्तर उपचार गरेमा संक्रमित व्यक्तिले पनि सामान्य र स्वस्थ जीवनयापन गर्न सक्ने भएकाले जनचेतना अभिवृद्धिमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उहाँको भनाइ छ।

नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक शोभाकर न्यौपानेले एचआईभीबारे पर्याप्त जानकारीको अभाव, जोखिमपूर्ण यौन व्यवहार, समयमै परीक्षण नगराउने प्रवृत्ति तथा संक्रमितप्रति समाजमा अझै कायम रहेको विभेदका कारण संक्रमण नियन्त्रणमा चुनौती थपिएको बताउनुभयो। उहाँका अनुसार एचआईभी सम्बन्धी जनचेतना विस्तार हुँदै गए पनि ग्रामीण क्षेत्रमा अझै पनि यसबारे विभिन्न भ्रम र गलत धारणा विद्यमान छन्। संक्रमण नियन्त्रणका लागि समुदायस्तरमा सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै परीक्षण र उपचार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो