मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका सुन्दरहरैंचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको असार ६ गते राती मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा राती २ बजे मृत्यु भएको कारागार प्रशासन राजन घिमिरेले बताउनुभयो । बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो । परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको घिमिरेले जानकारी दिनुभयो ।
बलात्कार मुद्दामा २०७५ पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका दाहाललाई पछि मोरङ जिल्ला अदालतले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो । दाहालले हालसम्म करिब साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए । उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासनले जनाएको छ ।