INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दले गरी खानेलाई पिरलो !

तानसेन नगरपालिका– १ गैरागाउँमा डेरा गरि बस्दै आएका ५४ वर्षीय कुल बहादुर लाम्काहा अरू दिन झैं फागुन ३० गते पनि बिहान ७ नबज्दै काधमा नाम्लो बोकेर बजारतिर निस्किए ।

उनको हरेक दिनको दैनिकी यसै गरि सुरू हुन्छ । बजार सुनसान, गाडी चलेकै छैनन् । कामको खोजीमा उनी १० बजेसम्म तेर्सो सडक वरिपरि घुमिरहे तर एउटा पनि काम पाएनन् अन्ततः निराश भएर डेरातर्फ फर्के ।

पूर्वखोला गाउँपालिका–३ जल्पा घर भई २६ वर्षदेखि तानसेनमै भरिया काम गरेर ५ जनाको गुजारा चलाउँदै आएका लाम्काहाले निराश हुँदै भने “महिनामा १६ सय कोठाभाडा तिर्नुपर्छ, खानुपर्यो लाउनुपर्यो । बिहान कमायो साँझ ठिक्क हुने हाम्रो परिवारमा एक दिन काम नपाउँदा पनि अब साँझ के खाने भन्ने चिन्ता भइसक्छ ।”

पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव पाल्पामा पूर्ण रूपमा पर्‍यो । जसका कारण कुलबहादुर जस्ता गरि खानेहरूले काम पाएनन् । बन्दका कारण सदरमुकाम तानसेनमा भारी बोकेरै परिवारको गुजारा चलाउँदै आएका १ सय ५० बढी मजदुरहरूलाई साँझ कसरी हात मुख जोर्ने भन्ने पिरलोले सतायो ।

१ घण्टाको पैदलबाट बिहान ८ बजे सदरमुकाम आइपुगेकी बगनासकाली–१ चिर्तुङ्धाराकी २७ वर्षीया रेवन्ती कुमाल पनि बन्दकै कारण काम नपाएपछि निराश भएर घर फर्किइन् । बन्दका गाडी नचल्दा र पसल ब्यवसाय बन्द भएकै कारण एक ठाउँको सामान अर्को ठाउँमा बोकेर लैजाने काम गर्दै आएकी उनले पनि काम पाइनन् ।

बन्दकै कारण जिल्ला सदरमुकामममा मात्रै २ सय बढी यसरी अर्काको भारी बोकेर गुजारा चलाउने महिला पुरूष प्रभावित भए । यहाँ भारी बोक्नकै लागि चिर्तुङ्धाराको घोरबन्दा गाउँबाट मात्रै ६० जना बढी महिला पुरूषहरू दैनिक आउने गर्दछन् र उनीहरूको गुजारा चलाउने बिकल्प नै भारी बोक्नु हो । तर बन्दले उनीहरूको काम पूर्ण रूपमा प्रभावित भयो ।

बन्दकै कारण सदरमुकाम तानसेन सहित छिमेकी बजारहरूमा समेत बिहानैबाट सवारी साधन चलेनन् । अत्यावश्क बाहेक लामो तथा छोटो दुरीका सवारी साधन समेत नचल्दा यात्रुले सास्ती पाएका छन् ।

सिद्धार्थ राजमार्ग सुनसान छ । विद्यालय तथा पसल ब्यवसाय पूर्ण रूपमा बन्द भएका छन् । शैक्षिक संस्थाहरूमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

अन्य

भिडियो