गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामी र पति घनश्याम धामीले खुद्रा व्यापारमा प्रयोग गरिएको सु.प.प्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भीरबाट खसालिदिएको आरोपमा प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई ०८३ जेठ ३१ गते गिरफ्तार गरेको छ ।
वन कार्यालयका कर्मचारीहरुले टेम्पो भीरबाट खसालिदिएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा जानकारी गराएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेकोले आरोपितहरुको नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
वन अतिक्रमण गरी बसोबास गर्दै आएकाहरुलाई जिल्ला प्रशासन कार्यालय, कैलालीको निर्देशनमा सो क्षेत्र खाली गर्न सूचना जारी गरेको भएता पनि अतिक्रमित क्षेत्र खाली नगरेपछि जेठ २९ गते जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अतिक्रमण क्षेत्र खाली गर्ने क्रममा सडक छेउमा राखिएको टेम्पो पन्छयाउन खोज्दा भिरबाट तल खसेको डिभिजन वन कार्यालय, कैलालीका वन अधिकृत रामविचारी ठाकुरले बताउनु भयो ।
उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको र सवारी बोक्ने चालु अवस्थाको टेम्पो नभइ कवाड भइसकेको टेम्पोलाई भीमदत्त राजमार्ग अन्तर्गत गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा चिया, अण्डा, चाउचाउ, पानीलगायतका सामान राखेर पसल चलाउँदै आएको अवस्थामा अतिक्रमति क्षेत्रबाट टेम्पो हटाइएको वन अधिृकत ठाकुरको भनाइ छ ।
गोदावरी नगरपालिका–४ बासपानीस्थित वन अतिक्रमण क्षेत्र खाली गर्ने क्रममा खुद्रा व्यापारमा प्रयोग गरिने टेम्पो वन कार्यालयका कर्मचारीहरुले जेठ २९ गते धकेलेर भीरबाट खसालिदिएको पीडित धनादेवी धामीले बताउनु भयो ।
आफूले वन अतिक्रमण नगरेको तर आफ्नो घरखर्च चलाउनका लागि पहिलेदेखि त्यस ठाउँमा व्यापार गर्दै आइरहेको अवस्थामा वन कार्यालयका कर्मचारीहरु अतिक्रमित क्षेत्र हटाउन आउदा आफूले उपरान्त त्यस क्षेत्रमा व्यापार नगर्ने र टेम्पो घर लैजान्छु भनेर अनुरोध गर्दा समेत वन कार्यालयका कर्मचारीहरुले टेम्पो भीरबाट खसालिदिएको उहाँको आरोप छ ।
वन कार्यालयका कर्मचारीहरुले टेप्पोलाई धकेल्दै भीरमा खसालिरहेको भिडिओ समेत सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रसार भएपछि त्यस कार्यको नागरिक तह र राजनीतक क्षेत्रबाट समेत विरोध गरिएको थियो ।
गोदावरी नगरपालिका–४ बासपानीमा बिगत १५ वर्षदेखि स्थानीयहरुले सडक क्षेत्र र वन क्षेत्र अतिक्रमण गरी छाप्रा हालेर व्यपार गर्दै आइरहेकोले यस भन्दा अगाडिदेखि नै डिभिजन वन कार्यालयले सो क्षेत्र खाली गराउने प्रयास गरिहेको र यसपटक पनि अतिक्रमति क्षेत्र हटाउन खोजेको गोदावरी नगरपालिका—४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताउनु भयो ।
घटनाको सत्यतथ्य छानबिन गर्न सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले असार १ गते पाँच सदस्यीय समिति समेत गठन गरेको छ ।