जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा ०८३ जेठ ३० गते बिहान मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय शाविर बक्सको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गिता बरैको संयोजकत्वमा जेठ ३१ गते पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । सदस्यहरुमा वीरेन्द्रनगर नगरपालिका–१० का वडाअध्यक्ष दिलबहादुर रखाल, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकी सदस्य खगिसरा वली, नेपाल पत्रकार महासंघ सुर्खेतका सदस्य ओमबहादुर शाही र पीडित परिवारका तर्फबाट फर्जी बक्स रहेका छन् । परिवारजनले असार १ गतेसम्म शवको पोष्टमार्टम गरेका छैनन् । छानबिन समितिले प्रक्रिया अगाडी बढाएपछि शवको पोष्टमार्टम गर्ने उनीहरुले बताएका छन् ।
जेठ २७ गते चोरीको आरोपमा गिरफ्तार गरिएका बक्स जेठ ३० गते बिहान ४ बजे अचेत अवस्थामा भेटिएपछि प्रहरीले उनलाई ४:३० बजे प्रदेश अस्पताल सुर्खेतमा लगेको थियो । डाक्टरले बिहान ५:३० बजे मृत घोषणा गरेका थिए ।