सोनमा गाउँपालिका–३ का आठ वर्षीय बालकलाई ०८३ जेठ ७ गते अपहरण प्रयास गरेको आरोपमा रौतहट जिल्ला गौर नगरपालिका–७ बस्ने २२ वर्षीय नवराज अधिकारीलाई प्रहरीले जेठ १५ गते गौरस्थित अस्पताल चोकबाट गिरफ्तार गरेको छ ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले बालकलाई जबरजस्ती मोटरसाइकलमा राखेर अपहरण गर्ने प्रयास गरेका थिए। बालक चिच्याउन थालेपछि स्थानीय बासिन्दाले मोटरसाइकल रोक्न खोज्दा आरोपितहरू बालकलाई सोही स्थानमा छाडेर फरार भएका थिए।
गिरफ्तार गरिएका अधिकारीमाथि अपहरण सम्बन्धी कसुर मुद्दा दर्ता गरेर महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनामा संलग्न अन्य आरोपितको खोजतलास कार्य तीव्र रूपमा अघि बढाइएको डिएसपी पञ्चलाल गोलेले बताउनुभयो ।