तिला गाउँपालिका–९ राँसा मालापानीस्थित जेठ ८ गते ज्योती माध्यमिक विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयका सीमित कक्षाकोठा, त्यही पनि हावाहुरीले छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीले विद्यालयको छाना उडाउनुको साथै काठले बनेको अधिकाँश संरचना ढलेको छ । हावाहुरी पश्चात् विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली पूर्णरूपमा प्रभावित भएपछि विद्यालयमा विद्युत आपूर्ति ठप्प भएको छ ।

विद्यालयका प्रधानाध्यापक मोतिराम बुढाका अनुसार हावाहुरीपछि विद्यालयमा ८ देखि १० लाख रुपियाँसम्म क्षति भएको छ ।
लामो समयको संघर्ष, स्थानीयको श्रमदान, अभिभावकको पसिना र समुदायको सहयोगबाट निर्माण गरिएको विद्यालय प्राकृतिक विपत्तीको कारण भग्नावशेषमा परिणत भएपछि अभिभावकहरु थप चिन्तित बनेका छन् ।
हप्तामा पाँच दिन कक्षा सञ्चालन गर्ने सरकारको नीति छ । भर्खर भर्खर बालबालिकाको पठनपाठन नियमित हुन थालेको थियो । यसैबेला विपद् आइपर्यो । अब बालबालिकाहरुलाई कहाँ कसरी राखेर पठनपाठन गराउने समस्या भएको प्रधानाध्यापक बुढाले बताउनु भयो ।