INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रादेशिक अस्पताल जनकपुरधाममा इमर्जेन्सी बाहेकका सेवा ठप्प हुँदा बिरामीहरु मर्कामा

जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरूले २०८३ जेठ ८ गते बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन सुरु गर्दा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१२ की  २७ वर्षीया अन्जिता देवी यादवको जेठ ४ गते शल्यक्रियाका क्रममा मृत्यु भएको घटनापछि जेठ ७ गते अस्पताल प्रशासन र मृतकका परिवारबीच छलफल भई छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले शल्यक्रियामा संलग्न डा. धीरेन्द्रकुमार शाह र डा. श्रेया लक्ष्मी शाहलाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको थियो।  सो निर्णयको विरोधमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरी आन्दोलन गरेको चिकित्सकहरूले बताएका छन्।

अस्पतालका सूचना अधिकारी डा. राम ज्ञान यादवले चिकित्सकहरूले शल्यक्रिया गर्नुअघि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको दाबी गरे। उहाँले चिकित्सकको लापरवाही प्रमाणित भएमा कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलसँग रहेको बताए । उनका अनुसार चिकित्सकहरूलाई लाइसेन्स दिने तथा आवश्यक परे खारेज गर्ने अधिकार पनि मेडिकल काउन्सिलसँग नै रहेको छ।

छानबिन समितिले कुन कानुनी आधारमा चिकित्सकहरूलाई निलम्बन गरेको भन्ने विषय कानुनविपरीत रहेको चिकित्सकहरूको भनाइ छ । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले जेठ ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, स्वास्थ्य मन्त्रालय मधेस प्रदेश, नेपाल मेडिकल एसोसिएसन तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रअनुसार जेठ १० गतेसम्म माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

स्वास्थ्य उपचारका लागि अस्पताल आएका लव यादवका भने अस्पतालको ओपिडीमा उपचारका लागि आएका बिरामीहरूले सेवा बन्द हुँदा बाहिर गएर महँगो शुल्क तिरी उपचार गराउन बाध्य हुनुपर्ने बताउँछन् । स्वास्थ्य सेवा थप्प  हुँदा उपचारका लागि आएका सेवाग्राही आक्रोशित भएका थिए । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।  

सन्तोष कुमार यादव

अन्य

भिडियो