INSEC Online

📅 २०८३ जेष्ठ २१

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगरको जेठ ३ गते र सोही स्थानकी ३५ वर्षीया बालकुमारी खाम्चाको जेठ ५ गते उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरू बिरामी परेका थिए । सोही घटनामा ५० वर्षीया यममाया जर्घाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार विशेषगरी ग्रामीण क्षेत्रमा “पहिलेदेखि खाँदै आएको च्याउ सुरक्षित हुन्छ”, “पक्षीले खाएको च्याउ मानिसले पनि खान मिल्छ” वा “रङ हेरेर विषालु च्याउ छुट्याउन सकिन्छ” भन्ने गलत धारणा अझै विद्यमान छन् । यस्ता भ्रमका कारण विषालु च्याउ सेवन गर्ने जोखिम बढिरहेको छ ।

पर्याप्त जनचेतनाको अभाव, स्वास्थ्यसम्बन्धी जानकारीको कमी तथा विषालु च्याउको पहिचानबारे प्रभावकारी शिक्षा समुदायसम्म नपुग्दा यस्ता घटना दोहोरिने गरेको प्रहरीको भनाइ छ ।

यसैबीच, तानसेन, निस्दी गाउँपालिका र माथागढी गाउँपालिका लगायतका क्षेत्रमा विषालु च्याउ सेवनबाट बिरामी परेका १२ जनाको पनि युनाइटेड मिसन अस्पतालमा उपचार गरिएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय तथा सामुदायिक संघसंस्थाले संयुक्त रूपमा जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रेडियो, विद्यालय शिक्षा, टोलभेला तथा स्वास्थ्य शिविरमार्फत विषालु च्याउको जोखिमबारे जानकारी दिन सकिए यस्ता मानवीय क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो