सम्सी गाउँपालिका–१ पर्सा देवाडकी २२ वर्षीया रञ्जिता कुमारी मण्डलको दाइजोको निहुँमा हत्या गरेको आरोपमा पति २४ वर्षीय रमेश मण्डल, ससुरा ५० वर्षीय विजय मण्डल, नन्द २० वर्षीया रोशनी मण्डल र १९ वर्षीया सुस्मिता मण्डलविरुद्ध माइती पक्षले ०८३ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएका छन् । प्रहरीले आरोपित पतिलाई जेठ ६ गते गिरफ्तार गरेकाे छ ।
पीडित पक्षका अनुसार जेठ ५ गते बिहान रञ्जिताले पासो लगाई आत्महत्या गरेको भनी खबर आएको बताउँदै छोरीको शरीरमा निलडाम रहेको र रगत पनि देखिएकोले उनको हत्या गरिएको आरोप लगाएका छन् । आत्महत्या प्रयास गरेको भन्दै पतिले उनलाई तत्काल उपचारको लागि रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतककी आमा सर्लाही हरिपुर्वा नगरपालिका –७ बसन्तपुरकी कौशिल्या देवी मण्डलले ०८२ फागुण १४ गते रमेश र रंजिताको विवाहमा नगद १० लाख दाइजो र सुनका गहना लगायतको सामानहरु दिएको बताउनु भयो । विवाहको दुई महिनामै माइतीसँग भैंसी माग भनी छोरीलाई मानसिक र शारीरिक यातना दिँदै आएको कारण त्यही निहुँमा हत्या गरेको उहाँले आरोप लगाउनु भएको छ ।
मृतकको पतिलाई तत्कालै गिरफ्तार गरिएको भन्दै पोष्टमार्टम रिपोर्टको आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले बताउनुभयो । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।