हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा ०८३ जेठ ५ गते खसेको पहिरोले सोही गाउँपालिका डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित बनेको छ ।
जेठ ५ गते रातिको समयमा एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतियोग्य जग्गा र किसानका गोठमा समेत क्षति पुगेको स्थानीय जसबहादुर तामाङले बताउनु भयो ।

चङ्खेली गाउँपालिका–५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडा, बाख्रामा समेत क्षति पुगेको छ । पहिरोबाट के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शङ्कर खड्काले जानकारी दिनुभयो ।
उहाँले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताउनु भयो । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।