अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंको नागर्जुन नगरपालिका–१ र कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टरको ०८३ जेठ ३ गते अनुगमन गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल र चिल्ड्रेन्स जोन अफ पिस (CZOP) का महासचिव राजु घिमिरेले होल्डिङ सेन्टरमा रहेकाहरूको अवस्था, बालबालिकाको शिक्षा तथा पुनःस्थापनासम्बन्धी विषयमा जानकारी लिनु भएको थियो ।
अनुगमनका क्रममा कीर्तिपुरको होल्डिङ सेन्टरमा ७२ महिला, ५१ पुरुष, ३० बालक र २८ बालिका गरी १ सय ८१ जना रहेको छन् । नागर्जुनको होल्डिङ सेन्टरमा ४१ परिवारका ९५ जना रहेको र त्यसमा पनि आउने जाने क्रम चलिरहेको सुरक्षा गार्ड नर प्रसाद ढकालले बताउनु भयो ।
होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकहरूले आफूहरूको दीर्घकालीन पुनःस्थापनाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका थिए । उनीहरूले सबैको हित र सुरक्षित भविष्य सुनिश्चित हुने गरी समयमै उचित व्यवस्थापन र पुनःस्थापना गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
अनुगमन टोलीले होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको आधारभूत आवश्यकता, बाल अधिकार तथा सुरक्षित आवासको विषयमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने जनाएको छ ।