फालेलुङ गाउँपालिका–५ का ७२ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर थाम्सुहाङ र उहाँकी ७१ वर्षीया पत्नी मनीमाया थाम्सुहाङलाई जेठ ३ गते सशस्त्र प्रहरीका जवानले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कुटपिटबाट अनुहार र घुँडामा चोट लागेका वीरबहादुर थाम्सुहाङको जिल्ला अस्पताल, पाँचथरमा उपचार भइरहेको छ । पत्नी मनमायाको अवस्था सामान्य छ ।
फालेलुङ गाउँपालिका–४ फालोटस्थित सशस्त्र प्रहरीको बीओपी क्याम्पमा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरीका जवान सुशिल थाम्सुहाङले ०८३ जेठ ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
बाटोमा ढुङ्गा थुपारेको भन्दै कुटपिट भएको पीडित वीरबहादुर थाम्सुहाङले बताउनु भयो ।
जिल्ला अस्पतालमा उपचारमा रहनु भएका पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा आरोपित परिवारभित्रकै भएकाले प्रहरीमा उजुरी नदिने बताउनु भयो ।
आरोपित सुशिल थाम्सुहाङले कुटपिट नगरेको र पीडित आँफै लडेका कारण अनुहारमा चोट लागेको बताउनु भएको छ ।