वीरगन्ज महानगरपालिका –१० स्थित हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख ४८ वर्षीय किशोरी रायमाथि ०८३ वैशाख ३१ गते क्याम्पस परिसरमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २९ वर्षीय दिलीपकुमार प्रजापति (पडित) र ४० वर्षीय देबलाल ठाकुरलाई गिरफ्तार गरेको छ ।
क्याम्पसमै कार्यरत कर्मचारी र शिक्षकको समूहले आफूमाथि मोसो छ्यापी लछारपछार गर्दै दुर्व्यवहार गरेको भन्दै सोही दिन क्याम्पसका सञ्चालक समिति सदस्य खेतानले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पाँच जनाको नाम दिएका मध्ये दुईलाई जनामात्र गिरफ्तार भएको उहाँको भनाइ छ ।
पर्साका प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले अन्य आरोपितको खोजतलास भइरहेको बताउनु भयो । सामुदायिक क्याम्पस हरिखेतानमा सञ्चालक समितिको हस्तक्षेप र निजीकरणको प्रयास भएको प्रति असन्तुष्ट शिक्षक कर्मचारीले आरोप लगाउँदै एक वर्षदेखि विवाद गर्दै आएका थिए । वैशाख २१ गतेदेखि लागु हुने गरी क्याम्पस प्रशासनले लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेपछि सो निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीले क्याम्पसमा तालाबन्दी गर्नुका साथै धर्ना दिँदै आएका थिए ।