कटहरिया नगरपालिका –९ डुमरियाकी पूर्व महिला वडा सदस्य ५५ वर्षीया अकलिया देवी मुसहरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय राजेन्द्र माझीलाई ०८३ जेठ १ गते गिरफ्तार गरेको छ ।
छिमेकी पुकार माझीको घरमा वैशाख १९ गते साँझ विवाहमा पर्सा जिल्लाबाट आएका जन्तीमध्ये १० वर्षीय बालक समिर माझीले वान्ता गरेपछि अकलिया देवीमाथि जादु टुना गरेको आरोप लगाई स्थानीय ३५ वर्षीय पुकार माझी, ४० वर्षीय राजेन्द्र माझी, ३८ वर्षीया लक्ष्मी माझी, ३२ वर्षीय शंकर माझी, ४५ वर्षीय सुरेन्द्र ठाकुर र ३० वर्षीय गौरी शाहले अभक्ष खुवाएर अमानवीय व्यवहार गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय कटरियाका सई मोहन आले मगरको नेतृत्वमा गएको प्रहरी टोलीले अचेत अवस्थामा रहेकी अकलिय देवीलाई उद्धार गरेको थियो । पीडितको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारका भयो । फरार रहेका अन्य आरोपितहरुको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।