INSEC Online

📅 २०८३ जेष्ठ २१

युवा अधिकारकर्मीहरुद्वारा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई घोषणापत्र हस्तान्तरण

युवा मानव अधिकार रक्षकहरुको समूहले ०८३ वैशाख १८ र १९ गते सम्पन्न प्रथम युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित १७ बुँदे घोषणापत्रका बारे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा छलफल गरी उक्त घोषणापत्र आयोगका माननीय अध्यक्ष तप बहादुर थापा मगरलाई बुझाएको छ ।

अध्यक्ष मगरले घोषणापत्रले मानव अधिकारसँग अति संवेदनशील मुद्दाहरु उठान गरेकोले स्थानीय तहमा अभियान मार्फत सरकारसँगको जवाफदेहिता खोज्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सुकुम्वासीहरुको मुद्दामा आयोगले अनुगमन प्रतिवेदन सार्वजनिक गरी सिफारिस गरेतापनि अपेक्षाकृत प्रतिफल प्राप्त हुन नसकेको बताउनु भयो । साथै, उहाँले आयोगका यस अघिका सिफारिसहरु कार्यान्वयन गराउन आयोगमा विशेष समिति गठन भएको र नवयुवा पुस्ताको आन्दोलनसँग सम्बन्धित अनुगमन प्रतिवेदन यथाशिघ्र आयोग मार्फत सार्वजनिक गरिने बताउनु भयो ।

त्यस्तै आयोगका सचिव मुरारी प्रसाद खरेलले सबै सरोकारवालाको ध्यानाकृष्ट हुने गरी उक्त घोषणापत्र मार्फत मानव अधिकार अभियानको मार्गचित्र प्रस्तुत भएको बताउनु भयो ।

उहाँले उक्त घोषणापत्रलाई संघीय, प्रदेश र सबै स्थानीय सरकार समक्ष पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । उहाँले र नव युवा पुस्ताको आन्दोलनसँग सम्बन्धित अनुगमन प्रतिवेदन सार्वजनिक गर्नका लागि निर्णय प्रकृया अगाडी बढाइएको समेत युवा अधिकारकर्मीहरुलाई जानकारी दिनु भयो ।

अन्तरक्रियालाई सहजिकरण गर्दै घोषणापत्रमा उल्लेखित १७ ओटा बुँदाहरुको महत्व र उक्त बुँदाहरुमा विम्वित अपेक्षाहरुका सम्बन्धमा राष्ट्रिय युवा मानव अधिकार रक्षक संजालका फोकल पर्सन बरुण बस्यालले आयोगका माननीय अध्यक्ष र सचिव समक्ष जानकारी दिनु भयो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो