INSEC Online

📅 २०८३ जेष्ठ २१

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न राष्ट्रियसभाका सांसदहरुको आग्रह

राष्ट्रियसभाका सांसदहरुले ०८३ वैशाख ३० गतेको बैठकको शून्य समयमा मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्ने सरकारको ध्यानाकर्षण गराएका छन् ।

जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सांसदहरुले सरकारसँग आग्रह गरेका छन् । सांसद कमला पन्तले मुलुकको गौरवका रुपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो ।

त्यस्तै सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्वासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद दुर्गा गुरुङले दीर्घकालीन रुपमा सुकुम्वासी समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

साथै, सांसद नरबहादुर बिष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो। सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गर्नुभयो ।

त्यस्तै सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा) ले कसैले पनि संसद्को अवमूल्यन गर्न नहुने बताउनु भयो । सांसद युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन सरकारलाई सुझाव दिनु भयो भने सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न माग गर्नुभयो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो