१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २५ वर्षीय खगेन्द्र भण्डारी र सोही ठाउँका २४ वर्षीय गोबिन्दबहादुर शाहीलाई जनही १८ वर्ष कैद, ७ लाख रुपिंयाँ जरिवाना र १–१ लाख रुपिंयाँ क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको ०८३ वैशाख २८ गतेको इजलासले उनीहरुलाई सामूहिक बलात्कारको थप पाँच वर्ष कैद भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो । ०८२ भदौ १५ गते थुनछेक बहसपछि कसुरदार दुवै जना दैलेख कारागारमा पुर्पक्षका लागि थुनामा थिए । १३ वर्षीया बालिकालाई ०८२ साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी कसूरमा अभियोग दर्ता गराएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते दैलेख अस्पतालमा भएको थियो ।
भदौ १५ गते नै थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । स्वाव परीक्षण प्रतिवेदन, प्रहरी अनुसन्धान र अदालती तहकीकातबाट समेत कसूर ठहर भएको उक्त सजाय भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार बीरेन्द्रबहादुर मल्लले बताउनु भयो ।