नवयुवा पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएका घटनाहरुको सत्य तथ्य बाहिर ल्याउन तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुगेका १० जनालाई प्रहरीले ०८३ वैशाख २८ गते गिरफ्तार गरेको छ ।
ललितपुरको हरिहर भवनस्थित आयोगको कार्यालय घेराउ गर्न पुगेका एक जना महिला र नौ जना पुरुषलाई गिरफ्तार गरी सोधपुछका लागि जिल्ला प्रहरी परिसर जावलाखेलमा राखिएको परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
कुटनीतिक क्षेत्र तथा निषेधित क्षेत्रमा धर्ना जुलुस गर्न नपाइने भएकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनीहरुसँग सोधपुछ तथा अनुसन्धान भइरहेकाले नामावली भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।