बर्दिबास नगरपालिका–३ का ३६ वर्षीय पत्रकार अजयकुमार साहमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा सोही नगरपालिका–१ बस्ने बर्दिबास साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष ५५ वर्षीय भोजप्रसाद फूँयाल (शंकर) विरुद्ध ०८३ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडितले उजुरी दिएका छन् ।
खबर दर्पण दैनिक तथा शिरीष न्यूज डटकमका प्रकाशक/सम्पादक, गोरखापत्र दैनिकका महोत्तरी समाचारदाता तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सदस्य पीडित पत्रकार अजयका अनुसार वैशाख १० गते रातोपाटी डटकम अनलाइनमा प्रकाशित ‘बर्दिबास खानेपानी संस्थामा विवाद छताछल्ल’ शीर्षकको समाचार लेखेको निहुँमा सार्वजनिक स्थलमै आरोपित भोजप्रसादले गालीगलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेका थिए । सो घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।