INSEC Online

📅 २०८३ जेष्ठ २१

मकवानपुर बाल सुधार गृहमा क्षमता भन्दा तीन गुणा बढी बालक

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा रहेको ३० जना क्षमताको बाल सुधार गृहमा क्षमता भन्दा गीन गुणा बालक राखिँदा गम्भीर समस्या देखिएको छ । उक्त सुधार गृहमा हाल ८९ जना बालक रहेका छन्।

करिब ५ कठ्ठा जमिनमा बनेको साँघुरो भवनभित्र २२ जिल्लाबाट आएका बालकहरू पाँचवटा कोठामा कोचिएर बस्दै आएका छन् । सुधार गृहका प्रमुख प्रदीप गौतमका अनुसार अत्यधिक भीडका कारण धेरै बालकहरू भुइँमै सुत्न बाध्य छन् ।

सुधार गृहमा आवासको मात्र नभई आधारभूत सुविधाको समेत अभाव देखिएको छ । खानपान, शौचालय, खेलकुद तथा पुस्तकालय जस्ता आवश्यक सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।

भक्तपुरको ठिमीस्थित बालगृहमा भएको विवादपछि सरकारले उपत्यका बाहिरका सुधार गृहहरूमा बालबालिका स्थानान्तरण गर्ने निर्णय गरेको थियो। सोही क्रममा ठिमीबाट ३० जना बालक मकवानपुर ल्याइएको र उनीहरूलाई पुनः फिर्ता नलगेपछि यहाँको चाप बढेको हो ।

हाल सुधार गृहमा रहेका बालकहरूमध्ये ८ जना १८ वर्ष माथिका छन् । मुद्दाका आधारमा हेर्दा बलात्कार घटनाका आरोपित सबैभन्दा धेरै ६२ जना छन् भने कर्तव्य ज्यान मुद्दाका १० जना, लागुऔषधसम्बन्धी मुद्दाका ९ जना र अन्य विभिन्न मुद्दाका बालकहरू समेत यहाँ राखिएका छन्।

क्षमता भन्दा अत्यधिक चापले बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ भने बालकहरूको आधारभूत अधिकार र सुधार प्रक्रियामा समेत असर पर्ने चिन्ता बढेको छ।

मञ्जिता मैनाली

अन्य

भिडियो