INSEC Online

📅 २०८३ जेष्ठ २१

वडामै पुग्यो सेवाः सामाजिक सुरक्षा भत्ताले ल्यायो सहजता र मुस्कान

रामपुर नगरपालिकामा अहिले सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौँ यात्रा गरेर बजारसम्म धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ । नगरपालिकाले वडा कार्यालयबाटै भत्ता वितरण सुरू गरेपछि स्थानीय बासिन्दाको दैनिकीमै सहजता थपिएको छ ।

रामपुर नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण अभियान चलाएको छ । पहिले भत्ता बुझ्न रामपुरको बेझाड बजार पुग्नुपर्ने बाध्यता थियो । वृद्धवृद्धा, अशक्त र आर्थिक रूपमा कमजोर नागरिकका लागि त्यो यात्रा आफैंमा चुनौतीपूर्ण थियो । गाडीभाडा, खाना खाजा खर्च हुन्थ्यो । अहिले आफ्नै घर नजिकैको वडाबाट भत्ता पाएपछि स्थानीय खुशी भएका छन् । रामपुर नगरपालिका–९ का थान बहादुर पाटा मगरले अहिले घरनजिकैबाटै भत्ता पाउँदा धेरै सजिलो भएको बताउनुभयो ।

नगरपालिकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडसँग सहकार्य गर्दै सबै वडामा यो अभियान चलाएको हो । भत्ता वितरणसँगै राष्ट्रिय परिचयपत्रमार्फत बायोमेट्रिक भेरिफिकेशन सेवा पनि सञ्चालन गरिएको छ । एउटै स्थानबाट दुई सेवा पाउँदा स्थानीय अझै सन्तुष्ट देखिन्छन् । “अब न त खर्च छ, न झन्झट,” स्थानीय भिमिसरा नेपालीले भन्नुभयो ।

रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले विशेषगरी ज्येष्ठ नागरिक र असक्त नागरिकलाई लक्षित गरी सेवा सुरु गरिएको बताउनुभयो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो