INSEC Online

📅 २०८३ जेष्ठ २१

अमानवीय व्यवहार गरिएको पीडितको आरोप

दुहवी नगरपालिका-१० सिमरियाकी ४५ वर्षीया रामकुमारी चौधरीलाई ०८३ वैशाख २ गते नेपाल प्रहरी र नगर प्रहरीले अमानवीय ढङ्गले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

दुहवी नगरपालिकाले ऐलानी जग्गामा निर्माण गरिएका भौतिक संरचनामा डोजर लगाउने क्रममा  आफ्नो नम्वरी जग्गामा निर्माण गरिएका घर टहरामा डोजर चलाउन नदिएपछि नेपाल प्रहरी र नगर प्रहरीले रुखमा बाँधेर घाँटी अठ्याएको पीडित पक्षको आरोप छ ।

पीडित रामकुमारी चौधरीले आफू १७ वर्षयता दुहवी नगरपालिका-१० सिमरियामा बस्दै आएको र जग्गाको बुझाउनु पर्ने राजश्व राज्यलाई बुझाएको भएपनि नगरपालिकाले बलपूर्वक डोजर चलाएको बताउनु भयो ।

उहाँले दुहवी नगरपालिकाका मेयर बेदबहादुर गच्छदारको १ कठ्ठा नौ धुर जग्गा आफ्नो जग्गा हुँदै जाने भएकाले मेयरले आफ्नो जग्गामा बाटो लैजानकै लागि ऐलानी जग्गामा डोजर चलाएको पीडित रामकुमारी चौधरीले बताउनु भयो ।

नेपाल प्रहरी र नगर प्रहरीको अमानवीय व्यवहारका कारण घाँटीमा चोट लागेको पीडितले बताउनु भएको छ ।

पीडित रामकुमारीकी छोरी विनम चौधरीले हामीले १७ वर्षयता बस्दै आएको ऐलानी जग्गामा आमाले ५ लाख रुपियाँ खर्च गरेर खाल्टो पुरेपछि मेयर गच्छदारले आफ्नो जग्गामा बाटो लैजानका लागि योजनाबद्ध ढङ्गले डोजर चलाएको बताउनु भयो ।

दुहवी नगरपालिकाका मेयर बेदकुमार गच्छदारले आफ्नो जग्गामा बाटो लैजानकै लागि डोजर चलाएको र महिलामाथि नेपाल प्रहरी र नगर प्रहरीले दुर्व्यवहार गरेको अस्वीकार गर्नु भयो । मेयर गच्छदारले ऐलानी जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरेर समय दिएपनि अटेर गरेपछि डोजर चलाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीले ०८२ वैशाख ६ गते प्रेस विज्ञप्ति जारी गरेर भ्रामक समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रकुमार खड्काद्वारा जारी विज्ञप्तिममा ०८३ वैशाख २ गते दुहवी नगरपालिका-१० सिमरियामा ऐलानी जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाइएको र सो क्रममा रामकुमारी चौधरी चलिरहेको डोजरमा चढ्न खोजेपछि नेपाल प्रहरी र नगर प्रहरीले सामान्य वल प्रयोग गरेको उल्लेख छ ।

एक जना महिलामाथि नेपाल प्रहरी र नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारको विरोध गरिरहेका छन् ।

जयकृष्ण यादव

अन्य

भिडियो