गुल्मी अस्पताल भवनको तीन पटक म्याद थप हुँदा पनि समयमै निर्माणले पूर्णता पाउन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । समयमै भवन निर्माण नहुँदा जीर्ण र पुरानो भवनबाट सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालबाट गुल्मी पश्चिम र अर्घाखाँचीका दुई स्थानीय तहका गरी दैनिक सरदर २ सय ५० जनाले सेवा लिदै आएका छन् । अहिले डाक्टरको कक्षमा कोचिएर भित्र छेरेपछि फर्किने उपाय खोज्नुपर्ने अवस्था छ । मालिका गाउँपालिका–४ का सन्देश केसीले नजिकै भवन अलपत्र हुँदा अहिलेको अस्पतालमा बस्ने ठाउँ नहुनु निकै दुःखद बिषय भएको बताउनु भयो । ‘जता गएपनि भीड रहेकाले उभिन ठाउँ रहेनछ । नजिकै त्यति ठूलो भवन बन्दै गरेर के गर्नु,’उहाँले भन्नुभयो, ‘यो राज्यको निरिहता हो ।’
अस्पताल भवन निर्माणको काम २०७८ असार १८ गते स्वच्छन्द÷बानिया जे.भी. मकवानपुरले सम्झौता गरेको थियो । यो योजनाको रकम भ्याट बाहेक कुल २५ करोड ९४ लाख रुपियाँ रहेको सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवले बताउनुभयो । उहाँका अनुसार गुल्मी अस्पतालको ८८ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको छ । पछिल्लो समय गुल्मी अस्पतालले सेवा प्रबाहमा आर्जन गरेको साख पूर्वाधारको कारण जोगाइरहन सकस देखिएको छ । अस्पताल भवन समयमै निर्माण नभएका कारण सेवा प्रवाहमा असहजता मात्रै नभएर सेवा प्रबाह बिस्तारमा समस्या भइरहेको गुल्मी अस्पतालका निमित्तले मेडिकल सुपरिटेडेण्ट विभव बस्यालले बताउनुभयो ।
भवन अभावकै कारण आइसियु सञ्चालन र मिर्गौलाको डाइलायसिस सेवा बिस्तार हुन सकेको छैन् । भिडियो एक्सरे गर्न आउने बिरामीका कुरुवा बस्ने ठाउँ छैन् । त्यो बाहेक इलेक्ट्रोनिक हेल्थ रेकर्डमा समय पुराना संरचना र वाइरिङ्गका कारण समस्या भइरहेको बस्यालले बताउनुभयो । बिशेषज्ञ र उपकण थपेर सेवा बिस्तार गर्न नयाँ भवन अपरिहार्य भएकाले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि भवन निर्माणले पूर्णता नपाएको गुनासो गर्नुभयो ।
अस्पताल भवन समयमै निर्माण गर्न अस्पताल विकास समिति, प्रशासन र रेसुङ्गा नगरपालिकाले पनि सक्रियता पनि देखाएको छ । तर, काममा परिणाम आउन सकेको छैन् ।
रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आफुहरुले नागरिकको सेवा प्रबाहलाई सरल, सहज र सुविधायुक्त बनाउन लगानी गरिरहेको भएपनि निर्माण व्यवसायीले ढिला गरेर सास्ती दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीहरुले जनताको लागि विशेषज्ञ सेवा थप गरिरहेका छाँै तर बसेर सेवा सेवा प्रबाह गर्न मुस्किल परेको छ । निर्माण व्यवसायीसँग न्यूनतम नैतिकता पनि देखिएको छैन् ।”
अस्पतालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८ सय ७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको संख्या २०८१÷०८२ मा ७८ हजार २ सय ५४ पुगेको छ ।
गुल्मी अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्न ६ जना विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी छ । तर कहिल्यै दरबन्दी अनुसारका विशेषज्ञ नहने भएकाले सेवाका लागि गुल्मेली नागरिक जिल्ला बाहिर जार्नुपर्ने समस्या रहेको थियो ।
यो बाध्यता बुझेकै कारण रेसुङ्गा नगरपालिकाले समुन्नतीको पहिलो आधार स्वास्थ्य क्षेत्रको विकाससँगै ‘गुल्मी अस्पताल मेरो अस्पताल’ बनाउने उद्देश्यका साथ अस्पतालमा लगानी गरिहरेको छ । प्रोत्साहन सुविधामार्फत एक जनाबाट छ जना विशेषज्ञहरुसम्म पुर्याएकाले आगामी दिनमा १० जना नै चिकित्सक उपलब्ध गराएर सुविधासहित सेवा प्रदान गर्ने लक्ष्य नगरको रहेको छ ।