INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक सरुवाको विषयलाई लिएर विद्यालयमा तालाबन्दी

सिमकोट गाउँपालिका–२ स्थित रामदेव माध्यमिक विद्यालय ठेहेका शिक्षकहरूको सरुवाको विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिले विद्यालयमा तालाबन्दी गरेका छन् । रामदेव माविमा १७ जना शिक्षक मध्ये पाँच जना शिक्षकहरू गाउँ भित्रकै स्थानीय रहेकोले उनीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भन्दै सरुवा गर्न खोजे पनि जान नमानेको आरोपमा विद्यालय व्यवस्थापन समितिले १९ गतेदेखि तालाबन्दी गरिएको हो ।

उक्त विद्यलायमा पाँच जना स्थानीय शिक्षक गाउँभित्रकै रहेको र उनीहरूले विद्यालय तर्फ खासै चासो नराखेको आरोपमा गत पुस २९ गते विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यपकको निर्णय अनुसार शिक्षकहरूको सरुवा प्रक्रियालाई अघि बढाइएको थियो । सरुवा गरेको करिब तीन महिना बितिसक्दा समेत स्थानीय शिक्षकहरूले गाउँ छोडेर बाहिर जान नमानेको र बाहिरका शिक्षकहरूलाई पनि रामदेव माविमा आउन नदिएका कारण विद्यायमा गुणस्तरीय शिक्षा प्रदान नभएको आरोप लगाउँदै चैत १९ गतेदेखि विद्यालयमा ताला लगाएको ठेहेबाट स्थानीय रवि भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समिति र गाउँका स्थानीय शिक्षकहरूको कुरा नमिलेपछि विद्यालय तालाबन्दी हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्थानीय शिक्षक भएकाले समयमै विद्यालय नआउने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा समेत प्रदान नगर्ने देखिएपछि उनिहरू सबैलाई गाउँ बाहिरका विद्यालयमा सरुवा गरिएको थियो ।

पाँच दिनदेखि विद्यलायमा ताला लगाएको विषयमा सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णप्रसाद आचार्यले हालसम्म कुनै जानकारी नआएको बताउनु भयो । उहाँले पठनपाठन प्रभावित हुनेगरी विद्यालयमा ताला लगाउनु राम्रो नभएको बताउनु भयो । नौ जना स्थायी र आठ जना राहतका शिक्षक शिक्षिकाहरू रहेको उक्त विद्यालयमा १ सय ७२ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले आफू विद्यालयको कामले सदरमुकाम सिमकोट आएकाले तालाबन्दीका विषयमा विस्तृत जानकारी नभएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर भण्डारीले शिक्षकहरुको लापरबाहीले विद्यार्थीको पढाइमा बाधा भएको भन्दै गुणस्तरीय शिक्षाका लागि शिक्षकको सक्रियता आवश्यक रहेकोले विद्यालय बन्द गर्नु परेको बताउनु भयो ।

नन्द सिंह

अन्य

भिडियो