त्रिवेणी गाउँपालिका–१० रुकुमपश्चिम घर भइ हाल तुलसीपुर उमनपा–१९ बस्दै आएकी २७ वर्षीया कमला ओलीको हत्या गरेको आरोपमा प्रहरीले पति ३४ वर्षीय गोपाल ओलीलाई गिरफ्तार गरेको छ ।
आपसी विवाद हुँदा चैत १२ गते साँझ गोपालले कमलामाथि धारिलो हतियार प्रहार गरेको र टाउको र अनुहारमा गम्भीर चोट लागेकोमा तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले आरोपितलाई चैत १२ गते राती नै गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ । शवको पोष्टमार्टम चैत १३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भयो । आरोपित गोपाल ओली वीरगञ्जस्थित वन कार्यालयमा लेखा अधिकृतका रूपमा कार्यरत सरकारी कर्मचारी रहेको बताइएको छ ।