INSEC Online

📅 २०८३ जेष्ठ २२

पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक गिरफ्तार

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ०८२ चैत १४ गते बिहान प्रहरीले उहाँको निवासबाटै गिरफ्तार गरेको छ ।

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली बिहान ५ बजे गुण्डु पुगेको थियो । ओलीलाई गिरफ्तार गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको थियो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ ।

आज बिहान भक्तपुरबाट गिरफ्तार गरिएका उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । ०८२ चैत १३ गते बालेन शाह  नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले ०८२ चैत १४ गते बिहान निवासबाटै गिरफ्तार गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरी काठमाडौँ लगेको छ ।

 

अनलाइनडेस्क

अन्य

भिडियो