INSEC Online

📅 २०८३ जेष्ठ २१

प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा चार जनाको मृत्यु, आठ करोड बढीको क्षति

कोशी प्रदेशमा १० दिनको अवधिमा प्राकृतिक विपद्का कारण चार जनाको मृत्यु हुनुका साथै ८ करोड रुपियाँ बढीको क्षति भएको प्रदेश सरकारले जनाएको छ ।

प्राकृतिक विपद्मा परी ०८२ चैत १ गतेयता १० दिनको अवधिमा कोशी प्रदेशमा  चार जनाको मृत्यु भएको  छ  ।

विपद्ले कोशी प्रदेशमा भएको क्षतिबारे चैत १० गतेको प्रदेशसभा बैठकलाई जानकारी गराउँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले १० दिनको अवधिमा  चार  जनाको मृत्यु भएको बताउनु भयो ।

मन्त्री पराजुलीले कोशी प्रदेशमा हावाहुरीका कारण रुख ढलेर र ढुङ्गाले लागेर उदयपुरमा दुई जना र भोजपुरमा एक जनाको मृत्यु भएको बताउनु भयो । चट्याङ्ले लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ ।

प्रकृतिक विपद्का घटनामा परी कोशी प्रदेशमा १३ जना घाइते भएका छन् । जसमध्ये उदयपुरमा पाँच, भोजपुरमा दुई, संखुवासभामा एक, सुनसरीमा एक, खोटाङमा एक र ताप्लेजुङमा एक जना घाइते भएका छन् ।

हावाहुरीका ४ सय ४६ घटनाबाट ४० घर परिवार विस्थापित भएका छन् ।  चट्याङका १६ ओटा घटनाबाट १३ घर परिवार प्रभावित भएका छन् । कोशी प्रदेशमा हावाहुरी र चट्याङ्का ४ सय ६२ घटनामा ५ सय ३० घर प्रभावित हुनुकासाथै ८ करोड २६ लाख बढीको क्षति भएको मन्त्री पराजुलीले बताउनु भएको छ ।

प्राकृतिक विपद् प्रतिकार्यका लागि समेत प्रदेश सरकारले आवश्यक तयारी थालेको छ ।

विनोद सुवेदी

अन्य

भिडियो