लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्ग तथा अशक्त भएका द्वन्द्वपीडितलाई उपचार खर्च सहयोग उपलब्ध गराउने भएको छ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै ‘द्वन्द्वपीडित उपचार खर्च कार्यक्रम’ अन्तर्गत घाइते, अपाङ्ग तथा अशक्त व्यक्तिहरूलाई आर्थिक सहयोग उपलब्ध गराइने जनाएको हो। मन्त्रालयले इच्छुक नेपाली नागरिकलाई ३० दिनभित्र निवेदन दिन आह्वान गरेको छ।
मन्त्रालयका अनुसार निवेदन इमेलमार्फत पेश गर्न सकिनेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, जिल्ला प्रशासन कार्यालयबाट जारी सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्ग वा अशक्त भएको सिफारिस पत्र, स्वास्थ्य समस्या पहिचानसम्बन्धी अस्पताल वा चिकित्सकको सिफारिस, तथा सम्बन्धित अन्य प्रमाण खुल्ने कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
मन्त्रालयले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गर्दै वास्तविक पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।