प्रतिनिधिसभा निर्वाचन दैनिक अनुगमन प्रतिवेदन-०८२ फागुन २० गते
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगले फागुन २० गते आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिनुभएको छ ।
उहाँले २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पार्नु भयो । भण्डारीकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुनेछ । यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्याइसकिएको छ । मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको उहाँले बताउनु भयो ।
मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रवन्ध मिलाइएको आयोगले जनाएको छ । भण्डारीले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गरे । निर्वाचनमार्फत नागरिकले कानून निर्माण र राज्य सञ्चालनको प्रक्रियामा प्रत्यक्ष रूपमा आफूलाई संलग्न गराउने अवसर पाउने कुरामा उनले बताए । यस प्रक्रियाको पूर्णताले नीति, नेतृत्व र शासनको अभिव्यक्ति हुनुका साथै समावेशी तथा उत्तरदायी राज्य निर्माणमा नागरिकको प्रत्यक्ष योगदान पुग्ने भन्दै आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गरेको छ ।
सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार गृह मन्त्रालयको समन्वयमा तयार पारिएको यस योजनाले सुरक्षा व्यवस्थालाई थप कडा र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
देशभरका कुल १० हजार ९ सय ६७ मतदान स्थलहरूलाई सुरक्षा चुनौतीका आधारमा तीन तहमा विभाजन गरिएको छ। विगतका निर्वाचनहरूको विश्लेषण र वर्तमान स्थितिको मूल्याङ्कन गर्दै ३ हजार ६ सय ८० वटा स्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखिएको छ। त्यसैगरी, ४ हजार ४ सय ४२ वटा मतदान स्थल ‘संवेदनशील’ र २ हजार ८ सय ४५ वटा स्थल ‘सामान्य’ श्रेणीमा रहेका छन्। सचिव राउतले यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउन र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि मात्र गरिएको स्पष्ट पारेका छन्।
निर्वाचनको सुरक्षाका लागि यसपटक पनि तीन घेराको सुरक्षा संयन्त्र परिचालन गरिने भएको छ। योजनाअनुसार मतदान स्थलको सबैभन्दा भित्री अर्थात् ‘कोर’ घेरामा नेपाल प्रहरी खटिनेछन्। बीचको दोस्रो घेराको जिम्मा सशस्त्र प्रहरी बललाई दिइएको छ भने सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा पहरा दिनेछ।
राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ।
परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा फागुन २० गते सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको हो।
बैठकले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनु भयो ।
राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो ।
इन्सेकका पर्यवेक्षकहरूका अनुसार देशैभर मतदान पूर्वको तयारीका कार्य सम्पन्न भएका छन् ।