INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशमा एक महिला र चार पुरुष हतियार सहित गिरफ्तार

बागमती प्रदेशमा काठमाडौँमा एक,  मकवानपुरमा दुई र काभ्रे र भक्तपुरमा एक/एक गरी फागुन १ देखि १९ गते सम्ममा पाँच जनालाई हतियार सहित प्रहरीले गिरफ्तार गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्ड सहित कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई ०८२ फागुन १ गते प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई गिरफ्तार गरेको थियो ।

त्यसैगरी पनौती नगरपालिका–६ गणेशथान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित फागुन ३ गते प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी गिरफ्तार गरेको हो ।

मकवानपुर थाहा नगरपालिका–४ धारापानी बस्ने ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझीलाई एकनाले भरूवा बन्दुक १ थान र फलामका छर्राहरु सहित फागुन १७ गते प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी, सशस्त्रको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईलाई इन्सास राईफलसहित ०८२ फागुन १९ गते गिरफ्तार गरेको छ । उक्त टोलिले राईफलसहित एसएलआरको चार थान गोली, दुई ओटा प्लाष्टिक राउण्ड, सर्ट गनमा लाग्ने एक राउण्ड र एउटा खुकुरी त्यसको दुई ओटा दाप, एउटा बञ्चरो र पाँच वटा सिरिन्ज पनि नियन्त्रणमा लिएको छ । उक्त हतियार भदौ २३–२४ को जेन–जी आन्दोलनमा लुटिएको आशंका गरिएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताउनु भयो । गिरफ्तार गरिएका सेढाईलाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो